काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानका दिन अत्यावश्यक सेवा तथा विशेष परिस्थितिमा रहेका मतदाताहरूका लागि सवारी पास आवश्यक नपर्ने व्यवस्था गरिएको छ ।
निर्वाचन आयोग को फागुन १६ गते बसेको बैठकले मतदानको दिन सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइए पनि निश्चित सेवा र व्यक्तिहरूलाई आवतजावतमा सहुलियत दिने निर्णय गरेको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान सुचारु रहने भएकाले विमानस्थलसम्म पुग्नुपर्ने यात्रुहरूको सुविधा र निर्वाचन परिचालनमा खटिने सवारी साधनको संवेदनशीलतालाई ध्यानमा राखेर यस्तो व्यवस्था गरिएको हो ।
आयोगको सिफारिसअनुसार दमकल, एम्बुलेन्स, शववाहन, खानेपानीका ट्याङ्कर, दुध, फलफूल, तरकारी, माछा–मासु तथा पेट्रोलियम पदार्थ बोकेका सवारी साधनहरू पासबिना सञ्चालन गर्न पाइनेछ । त्यस्तै दूरसञ्चार, खानेपानी, विद्युत, ढल मर्मत र अस्पताल सेवामा प्रयोग हुने सवारी साधनका साथै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले प्रयोग गर्ने सवारी साधनमा पनि पासको अनिवार्यता हटाइएको छ ।
मतदान प्रक्रियालाई समावेशी र पहुँचयोग्य बनाउन हिँडडुल गर्न नसक्ने, शारीरिक रूपमा अशक्त वा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी तथा साना बालबालिका बोकेका महिलाहरूका लागि विशेष सहुलियत दिइएको छ । यस्ता मतदाता र उनीहरूको सहयोगका लागि खटिने एक जना सहयोगी बोकेको सवारी साधनलाई मतदान केन्द्रसम्म पुग्न र फर्कन पास आवश्यक नपर्ने व्यवस्था गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए ।
यसैगरी क्रियापुत्री बोकेका सवारी साधन तथा नम्बर प्लेटमा ‘सीडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारी साधनलाई पनि पासबिना सञ्चालनको अनुमति दिइएको छ ।
सञ्चार तथा अनुगमनमा खटिने निकायहरूका लागि पनि आयोगले खुकुलो नीति अपनाएको छ । आयोगबाट जारी पर्यवेक्षक परिचयपत्रवाहक, राष्ट्रिय मानवअधिकार आयोगको अनुगमन टोली तथा वैधानिक प्रेस पास भएका सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधनलाई पास आवश्यक नपर्ने गरी सरकारलाई सिफारिस गरिएको छ ।
आयोगले स्पष्ट पारेअनुसार सवारी सञ्चालनमा लगाइएको रोक फागुन २० गते राति १२ बजेदेखि २१ गते मतदान सम्पन्न नभएसम्मका लागि मात्र लागू हुनेछ ।
प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया