काठमाडौं । इरान मा युद्ध सुरु भएको २४ घण्टाभित्र अमेरिका र इजरायल ले संयुक्त रूपमा १२ सय बम प्रहार गरेको दाबी गरिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार उक्त आक्रमणमा इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनी सहित ४० भन्दा बढी उच्च अधिकारी मारिएको जनाइएको छ । शनिबार उनको कार्यालय परिसरमा करिब ३० वटा क्षेप्यास्त्र प्रहार गरिएको र आक्रमणका बेला उनी कमान्डरहरूसँग बैठकमा रहेको दाबी गरिएको छ ।
बेन्जामिन नेतन्याहू ले शनिबार राति खामेनी मारिएको बताएका थिए भने डोनाल्ड ट्रम्प ले पनि सोही दाबी दोहोर्याएका थिए । आइतबार बिहान इरानका सरकारी समाचार एजेन्सी ‘तसनीम’ र ‘फार्स’ ले खामेनीको मृत्यु भएको पुष्टि गरेको बताइएको छ ।
खामेनीको मृत्युपछि इरानमा ४० दिन राजकीय शोक तथा सात दिन सार्वजनिक बिदा घोषणा गरिएको जनाइएको छ । इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) ले बदला लिने चेतावनी दिएको छ । उता राष्ट्रपति ट्रम्पले इरानले थप आक्रमण गरे कडा प्रतिकार गरिने चेतावनी दिएका छन् भने इरानले पनि बदला लिएरै छाड्ने प्रतिक्रिया दिएको छ ।
इरानमाथिको आक्रमणपछि पाकिस्तान को कराची मा प्रदर्शन भएको जनाइएको छ । आक्रोशित भीडले अमेरिकी दूतावासमा तोडफोड र आगजनीको प्रयास गरेको तथा प्रहरीले स्थिति नियन्त्रणमा लिँदा ६ जनाको मृत्यु भएको दाबी गरिएको छ ।
इरानको सरकारी समाचार एजेन्सी इरनाका अनुसार आक्रमणमा रक्षामन्त्री अजीज नसीरजादेह र सेना प्रमुख अब्दुल रहीम मौसवीको पनि मृत्यु भएको जनाइएको छ । यसअघि खामेनीका सुरक्षा सल्लाहकार अली शामखानी र आईआरजीसी प्रमुख मोहम्मद पकपोर मारिएको पुष्टि गरिएको थियो ।
मिडिया रिपोर्टअनुसार अहमद वाहिदी नयाँ सेना प्रमुख बन्ने सम्भावना रहेको छ । उनी १९७९ को इस्लामी क्रान्तिपछि आईआरजीसीमा आबद्ध भएका थिए र सन् १९८८–१९९८ सम्म कुद्स फोर्सका कमान्डर थिए । सन् २००९ मा उनी रक्षामन्त्री नियुक्त भएका थिए ।
सन् १९९४ मा ब्यूनस आयर्स मा भएको एएमआइए विस्फोट प्रकरणसँग उनको नाम जोडिएको थियो । उक्त घटनापछि इन्टरपोल ले उनीविरुद्ध ‘रेड नोटिस’ जारी गरेको थियो ।
प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया