बझाङ । गृहमन्त्री ओमप्रकाश अर्यालले बझाङमा आगामी निर्वाचनविरोधी गतिविधि सह्य नहुने स्पष्ट पार्दै दोषीलाई कानुनको दायरामा ल्याइने बताएका छन्।

आइतबार नेपाली सेनाको हेलिकप्टरमार्फत बझाङ पुगेका उनले जिल्ला प्रशासन कार्यालयमा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै स्थलगत जानकारी लिएका थिए।

advertisement

सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री अर्यालले विगतका निर्वाचनमा देखिएका कमी–कमजोरी यसपटक दोहोरिन नदिने दाबी गरे। उनका अनुसार, उपलब्ध जनशक्ति र स्रोत–साधनको अधिकतम प्रयोग गरेर निष्पक्ष, पारदर्शी र विश्वसनीय निर्वाचन सम्पन्न गरिनेछ।

उनले प्रशासनिक संयन्त्र सक्षम, सजग र निष्पक्ष रहेको उल्लेख गर्दै निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताए।

गृहमन्त्री अर्यालले भने, ‘भौगोलिक विकटता वा अन्य कुनै बहानामा अर्काको नाममा मतदान गर्ने, मृत व्यक्तिको नाममा भोट हाल्ने वा बुथ कब्जा गर्ने जस्ता अनियमित गतिविधि यसपटक सह्य हुदैन।’

निर्वाचन विरोधी गतिविधिमा संलग्न जो–कोही राष्ट्रसेवक, सर्वसाधारण वा दलका प्रतिनिधि भए पनि कानुनअनुसार कारबाही हुने उनले बताए।

उनले सबै राजनीतिक दल, उम्मेदवार, मतदाता र सरोकारवालालाई स्वच्छ, निष्पक्ष र प्रतिस्पर्धात्मक वातावरण कायम गर्न सहयोग गर्न आग्रह गर्दै निर्वाचनमा गलत हर्कत गर्ने जो–कोहीलाई कानुन अनुसार कारबाही गरिनेमा जोड दिए।

प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com