काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कुनै दलसँग आफूहरुको प्रतिस्पर्धा नभएको बताएका छन्।

सामाखुशीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अतिवाद संस्थागन हुन नदिने बताए। अहिले अतिवाद संस्थागत हुन्छ कि हुँदैन भन्ने प्रश्न रहेको भन्दै उनले कांग्रेस हरेक परिवर्तनको आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेको र जेनजी आन्दोलनमा नागरिकले गरेको खबरदारीबाट पनि सच्चिएको पार्टी भएको बताए।

advertisement

’कांग्रेस अधिकारका लागि लामो समयदेखि बलिदान गरेको पार्टी हो,’ उनले भने, ‘को पहिले जन्मियो त्यस आधारमा पुरानो हुँदैन। कांग्रेसलाई पहिले जन्मिएर नयाँ ढंगबाट नागरिकको विश्वास जितेर अघि बढेको रुपान्तरित पार्टीका रुपमा बुझ्नुपर्छ।’

सभामा बोल्दै महामन्त्री पौडेलले देशमा देखिएका समस्यासँग आफूहरुको लडाईं रहेको बताए।

‘हामी अर्कालाई आलोचना गर्न होइन गरिबी, बेरोजगारी, भ्रष्टाचार कुशासन परास्त गर्न चाहन्छौं,’ उनले भने, ‘कांग्रेसले अब देशमा समस्याका रुपमा देखिएका यी सबै परास्त गरेर सुशासन र समृद्धिको नेतृत्व गर्न चाहन्छ।’

नेपाली कांग्रेस कमी कमजोरी स्वीकार गरेर अघि बढेको पार्टी भन्दै उनले नेतृत्व मात्र नयाँ नभै विषयगत रुपमा समेत प्रष्ट बनेर आएकाले यसलाई आम मतदाताले ख्याल गर्नुपर्ने बताए।

‘नेतृत्व मात्र नयाँ आएको विषय सामान्य होला,’ उनले भने, ‘तर विचारगत पक्षबाट नयाँ भएको गम्भीर विषय हो। यसलाई मतदाताले ख्याल गर्नुपर्छ।’

विगतमा दलहरु मिलेर बनेको गठबन्धनले नागरिकको छनेटको सुविधा साँघुरो बनाएको भन्दै विचार नमिल्ने दलका सदस्यको भोट एकै ठाउँमा राखेर जित्ने परिस्थितीले विचार विजयी भएको मान्ने स्थिती नबनेकाले आफूहरुले त्यो हटाएको बताए।

महामन्त्री पौडेलले नागरिकको अपेक्षाअनुसार बोझिलो राज्यसंरचनालाई छरितो बनाउनुपर्ने बताए।

‘अब २७५ को संसद २०१ मा ल्याइनुपर्छ। संघीय मन्त्री मण्डल २५ बाट १५ मा झार्नुपर्छ। प्रदेशका ३ देखि ५ सम्मको मन्त्रीमण्डल बनाउनुपर्छ। संघीयता हटाउने हैन बोझिलोलाई छरितो बनाउनु जरुरी छ,’ उनले भने।

सभामा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्माले पनि सम्बोधन गरेका थिए।

प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com