सिरहा । सिरहामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई युवकको ज्यान गएको छ भने एक किशोर गम्भीर घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिका–३ स्थित जमनटोकी नजिक आइतबार राति दुर्घटना भएको हो। दुर्घटनामा धनगढीमाई नगरपालिका–८ का ३७ वर्षीय सन्तोष महतो र २० वर्षीय अमन रायको मृत्यु भएको प्रहरीले जनाएको छ।

advertisement

गोलबजारबाट पूर्वतर्फ जाँदै गरेको स ५ प ४७५९ नम्बरको मोटरसाइकल र धरानबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख १०८५ नम्बरको बस एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीनै जना घाइते भएका थिए। घाइते महतो र रायको उपचारका क्रममा स्थानीय स्वास्थ्य संस्थामा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सुधन केसीले जानकारी दिए।

दुर्घटनामा परी मोटरसाइकलमा सवार १७ वर्षीय धिरज मण्डल गम्भीर घाइते भएका छन्। उनको विराटनगरस्थित अस्पतालमा उपचार भइरहेको छ।

मृतकको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पतालमा राखिएको छ। दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com