एजेन्सी । इरानका वरिष्ठ राष्ट्रिय सुरक्षा अधिकारी अली लारिजानीले अमेरिकासँग कुनै पनि प्रकारको वार्ता नगर्ने स्पष्ट पारेका छन्। सामाजिक सञ्जाल ‘एक्स’मार्फत सार्वजनिक गरिएको वक्तव्यमा उनले इरानले अमेरिकासँग पुनः संवाद सुरु गर्न खोजेको भन्ने समाचारहरू पूर्ण रूपमा अस्वीकार गरेका हुन्।
मध्यस्थकर्तामार्फत इरानले वासिङ्टनसँग वार्ताको प्रयास गरिरहेको भन्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका खबरप्रति प्रतिक्रिया दिँदै लारिजानीले लेखेका छन्, ‘इरान अमेरिकासँग वार्ता गर्ने पक्षमा छैन।’
लारिजानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिमाथि तीव्र आलोचना गर्दै उनलाई क्षेत्रीय अस्थिरताको जिम्मेवार ठहर गरेका छन्। उनले ट्रम्पले ‘झूटा आशा’ देखाएर मध्यपूर्वलाई अराजकतातर्फ धकेलेको आरोप लगाउँदै अहिले अमेरिकी सैनिकको बढ्दो क्षतिप्रति चिन्ता व्यक्त गर्नु विडम्बनापूर्ण भएको टिप्पणी गरेका छन्।
उनले ट्रम्पको ‘अमेरिका फर्स्ट’ नारालाई व्यवहारमा ‘इजरायल फर्स्ट’ मा परिणत गरेको आरोप पनि लगाए। लारिजानीका अनुसार इजरायलको रणनीतिक स्वार्थ पूरा गर्न अमेरिकी सैनिकहरूलाई जोखिममा पारिएको छ।
दिवंगत सर्वोच्च नेता आयतुल्ला अली खामेनीका प्रमुख सल्लाहकारसमेत रहेका लारिजानीले इरानी सेनाले कुनै पनि आक्रमणको सुरुवात नगरेको दाबी गर्दै भने, ‘हामीले युद्ध सुरु गरेका होइनौं।’
प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया