काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले होली (फागुपूर्णिमा) पर्वले हाम्रो समाजका विकृति, विसङ्गति एवम् कुरीतिको अन्त्य गर्ने विश्वास व्यक्त गरेका छन् ।

फागुपूर्णिमाका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उनले गर्दै यस पर्वले हामी सबैमा प्रेम, सद्भाव, आपसी एकता र लोकतान्त्रिक मूल्य–मान्यताप्रति सम्मानको सन्देश प्रवाह गर्ने कामना गरे ।

advertisement

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजयको खुसियालीमा हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराईका जिल्लामा रङ्गहरूको उत्सवका रूपमा फागुपूर्णिमा (होली) हर्षोल्लासपूर्वक मनाइने सन्देशमा भनिएको छ ।

प्रेमभाव र आत्मियताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने हाम्रो परम्पराले सामाजिक एकता र सद्भावलाई अझ मजबुत बनाउँदै आएको मुख्यमन्त्रीले भनेका छन् ।

होलीमा प्रयोग हुने थरिथरिका रङ्ग जस्तै हाम्रो नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण छ । यही विविधताबीचको एकताले नै हाम्रो राष्ट्रिय पहिचानलाई बलियो बनाएको छ, उनले भने, यस पर्वले हामीबीचको भाइचारा, सहिष्णुता, एकता र सद्भावलाई अभिवृद्धि गर्दै बन्धुत्वको भावनालाई थप सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।

गण्डकी प्रदेश र हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सुन्दर रहेको उल्लेख गर्दै मुख्यमन्त्रीले सबै जाति, भाषा, पेसा, धर्म, समुदाय र संस्कृतिको पहिचान, अपनत्व र अधिकारलाई स्थापित गर्दै गण्डकी प्रदेश सरकारले लिएको ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’को सङ्कल्पलाई साकार पार्न सबैको साझा प्रतिबद्धता, एकता र सहभागिता आवश्यक रहेको बताए ।

यस वर्षको होलीको सङ्घारमा प्रतिनिधिसभा निर्वाचन हुँदै गरेको र निर्र्वाचन लोकतान्त्रिक अभ्यासलाई थप परिपक्व बनाउने महत्वपूर्ण अवसर भएको भन्दै सन्देशमा निर्वाचन केवल प्रतिनिधि चयन गर्ने प्रक्रिया मात्र नभइ लोकतन्त्रप्रतिको हाम्रो प्रतिबद्धताको पुनः पुष्टि गर्ने पर्व पनि रहेको उल्लेख गरिएको छ ।

सम्पूर्ण मतदाताहरूलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा आफ्नो मताधिकार प्रयोग गर्न हार्दिक अपिल गर्दै उनले हाम्रो एक मतले स्थिरता, विकास र समृद्धिको मार्ग तय गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

  • रासस

प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com