काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी शक्तिहरूबीच व्यापक एकता र ध्रुवीकरण अपरिहार्य भएको बताएका छन्।
भक्तपुर क्षेत्र नं. २ मा नेकपा एमाले परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका नेता–कार्यकर्ताहरूलाई स्वागत गर्दै उनले वाम एकताको आवश्यकता औंल्याएका हुन्। ‘आजको मुख्य आवश्यकता वामपन्थी ध्रुवीकरण हो। वाम शक्तिहरूबीचको एकता अहिलेको सबैभन्दा महत्वपूर्ण राजनीतिक एजेन्डा हो,’ प्रचण्डले भने।
उनले २०७४ सालको निर्वाचनको प्रसंग स्मरण गर्दै त्यसबेला तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गठबन्धन गरी चुनाव लडेको उल्लेख गरे। ‘हामीले २०७४ मा एकताबद्ध भएर निर्वाचन लड्यौं र पछि एउटै पार्टी निर्माण गर्यौं। झन्डै दुई तिहाइ बहुमतसहित जनताको ठूलो विश्वास प्राप्त गरेका थियौं। तर, सही नेतृत्वको अभावमा त्यो उपलब्धि जोगाउन सकिएन,’ उनले भने।
गत भदौ २३ र २४ गते सम्पन्न ‘जेनजी’ आन्दोलनपछिको राजनीतिक परिस्थितिले कम्युनिस्ट शक्तिहरूबीच पुनः एकताको आवश्यकता अझ तीव्र बनाएको उनले बताए। ‘भदौ २४ को घटनाक्रमपछि कम्युनिस्टहरूलाई पुनः एकताबद्ध गर्ने आवश्यकता झन् बढेको छ। त्यसैअनुसार नेपाली कम्युनिस्ट पार्टी निर्माणको प्रक्रिया अगाडि बढाइएको छ,’ उनले स्पष्ट पारे।
प्रचण्डका अनुसार नेकपा एमालेबाट केन्द्रीय तहका नेतादेखि प्रदेशस्तरका मन्त्री र सांसदसम्म ठूलो संख्यामा नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध हुने क्रम जारी छ।
निर्वाचनको मुखमा सूर्यविनायक नगरपालिका–८ का श्याम मचामसी, राम बाला र राजु लबजू, भक्तपुर नगरपालिका–७ का रघुनाथ सुवाल तथा चाँगुनारायण नगरपालिका–८ का कृष्णराम कवा लगायतका नेता–कार्यकर्ताहरूले एमाले त्यागेर नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।
नवप्रवेशीहरूलाई स्वागत गर्दै प्रचण्डले वर्तमान अवस्थामा वामपन्थी तथा क्रान्तिकारी शक्तिहरूबीचको एकता देशको राजनीतिक स्थायित्वका लागि अपरिहार्य रहेको दोहोर्याए।
प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया