काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा सम्पूर्ण नेपालीहरूले अब ‘देश पहिले’ भन्ने दिन आएको बताएका छन् ।
आइतबार जारी गरेको भिडियो सन्देशमा ओलीले भने, मप्रति तपाईंका गुनासा होलान्, प्रश्न होलान्, मेरा कमजोरी पनि होलान् । तर तपाईंलाई यो पनि थाहा छ, देशको अखण्डता, स्वाभिमान र राष्ट्रियताको सवालमा मैले कसैसँग कहिल्यै सम्झौता गरेको छैन, र गर्ने छैन ।
उनले निर्वाचित सरकारलाई अपदस्थ गरी संसद विघटन गरिएको घटनालाई स्मरण गर्दै पुनः त्यही प्रतिनिधिसभाको निर्वाचन हुन लागेको उल्लेख गरे । आज तपाईंले एउटा बाटो रोज्नुपर्नेछ—बनाउने कि भत्काउने, निर्माणको कि ध्वंसको, उनले भने, “मलाई थाहा छ, धेरै भ्रम फैलाइएका छन् । अब स्पष्ट कित्ताकाट गर्ने बेला आएको छ । तपाईं राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ कि राष्ट्रको भविष्य जे भए पनि हुन्छ भन्ने पक्षमा ?
ओलीले ‘देश पहिले’ भन्नाले संविधान, नियम, भूमि, जनता, सार्वजनिक सम्पत्ति, राष्ट्रिय स्वाधीनता र स्वाभिमान पहिले भन्ने बुझिनुपर्ने बताए । संविधान बचे मात्र तपाईंका अधिकार बच्छन्—बोल्ने अधिकार, बाँच्ने अधिकार, न्याय पाउने अधिकार र आफ्नो मतको अधिकार, उनले भने, हामीलाई संविधान नहल्लिने, नियम नमिचिने र अधिकार नकुल्चिने ग्यारेन्टी चाहिएको छ । त्यस ग्यारेन्टीका लागि ‘देश पहिले’ भन्ने भावना आवश्यक छ ।
उनले सिंहदरबार, अदालत, संसद, सडक, सरकारी कार्यालय, प्रहरी चौकी, सुरक्षा निकाय सबै तपाईंको कर र भरोसाले बनेको बताउँदै यी जले भने तपाईंको भरोसा मात्र होइन, सपना पनि जल्ने चेतावनी दिए । अब यी कहिल्यै नजल्ने ग्यारेन्टी चाहिएको छ । त्यसका लागि ‘देश पहिले’ भन्ने प्रतिबद्धता आवश्यक छ, उनले थपे ।
जीवनको अन्तिम मोडमा पुग्दा आफैंलाई प्रश्न गर्दा जवाफ दिने नैतिक साहस बाँकी रहनुपर्ने उनको भनाइ थियो । जिन्दगीको अन्तिम मोडमा पुग्दा तपाईंले आफैंलाई सोध्नुहुनेछ, त्यतिबेला मैले बोल्नुपर्थ्यो कि पर्दैनथ्यो ? आँखा–कान खोल्नुपर्थ्यो कि पर्दैनथ्यो ? उठ्नुपर्थ्यो कि पर्दैनथ्यो ? त्यस प्रश्नको जवाफ दिने नैतिक साहस तपाईंमा बाँकी रहोस् । ‘मैले राष्ट्रको पक्षमा निर्णय गरेको थिएँ’ भन्ने आत्मसन्तुष्टि तपाईंमा रहिरहोस्, उनले भने ।
उनले आफ्नो बाँच्ने दिन बितिसकेका दिनभन्दा कम रहेको बताउँदै धेरै दिन बाँच्न बाँकी रहेकाहरूका लागि लडिरहेको उल्लेख गरे । त्यसैले मैले सधैं ‘देश पहिले’ भन्दै आएको छु । अब तपाईंले पनि ‘देश पहिले’ भन्ने दिन आएको छ, उनले भने ।
ओलीले यसपालिको चुनाव पार्टी–पार्टीबीचको मात्र प्रतिस्पर्धा नभई देश जलाउने र बनाउनेबीचको चुनाव रहेको बताए । भोलि कसैले तपाईंलाई कसलाई भोट हाल्नुभयो भनेर सोध्दैन । तपाईंले कुन बाटो रोज्नुभयो—बनाउने कि जलाउने—त्यो सोधिनेछ । मलाई विश्वास छ, तपाईंले बनाउने बाटो रोज्नुहुनेछ, उनले सम्बोधनको अन्त्य गरे ।
यो भिडियो सन्देशलाई एमालेले चुनावी अभियानको महत्वपूर्ण सन्देशका रूपमा लिएको छ । निर्वाचन नजिकिँदै गर्दा ओलीको यो अपिलले मतदातालाई राष्ट्रियता र देशप्रतिको प्रतिबद्धतामा केन्द्रित गर्न खोजेको देखिन्छ ।
प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया