काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा काठमाडौं उपत्यकामा सवारी चाप उल्लेखनीय रूपमा घटेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार निर्वाचन तयारीका लागि ठूलो सङ्ख्यामा जनशक्ति बाहिरिँदा सवारी आवागमनमा कमी आएको हो ।
नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै सुवेदीले भने, “सवारी चाप घट्दै गइरहेको छ । हामीसँग भएको भेइकलहरू अधिकतम प्रयोग गर्ने तयारी गरेका छौं । करिब ८० प्रतिशत मेनपावर उपत्यका बाहिर पठाइएको छ । सहजताका लागि निर्वाचन प्रहरी सडकमा खटाएका हौं । ट्राफिक प्रहरीहरूलाई खासगरी मधेस प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशमा पठाइएको छ ।”
उनका अनुसार निर्वाचन सुरक्षालाई प्राथमिकता दिँदै ट्राफिक प्रहरीहरूलाई अन्य प्रदेशमा खटाइएको छ । उपत्यकामा जनशक्ति अभाव नहोस् र सवारी व्यवस्थापन सहज बनोस् भन्ने उद्देश्यले निर्वाचन प्रहरीलाई सडकमा परिचालन गरिएको छ ।
निर्वाचनका कारण सर्वसाधारण मतदान गर्न घर–गाउँ फर्किँदा उपत्यकाभित्र सवारी चापमा कमी आएको प्रहरीले जनाएको छ । यातायात व्यवसायीहरूका अनुसार पनि टिकट बुकिङमा उल्लेखनीय वृद्धि भएको छ र बुधबारसम्म ८–९ लाख मानिस बाहिरिने अनुमान छ ।
ट्राफिक प्रहरीले उपत्यकामा उपलब्ध सवारी साधन तथा जनशक्तिको अधिकतम प्रयोग गर्दै निर्वाचन अवधिमा ट्राफिक व्यवस्थापन सहज बनाउने प्रयास गरिरहेको छ ।
प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया