काठमाडौं। इरानका सुरक्षा प्रमुख अली लारिजानीले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मार्फत आफ्नो देशले अमेरिकासँग वार्ता नगर्ने स्पष्ट पारेका छन् । सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिवसमेत रहेका लारिजानीलाई इरानी अधिकारीहरूले अमेरिकासँग पुनः वार्ता सुरु गर्ने योजना बनाएका छन् कि भनेर सोधिएको प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन् ।
लारिजानी इरानी सर्वोच्च नेता अयातुल्लाह अली खामेनीका निकट सहयोगी तथा सल्लाहकार रहिसकेका व्यक्ति हुन् । आइतबार इजरायल र अमेरिकाको संयुक्त आक्रमणमा खामेनी मारिएपछि इरानमा नेतृत्व संकट उत्पन्न भएको छ । संक्रमणकालीन अवस्थामा अस्थायी नेतृत्व परिषद् गठन गरिएको छ ।
यो अवस्थामा अमेरिकासँग वार्ताको सम्भावनाबारे प्रश्न उठिरहेका बेला लारिजानीले वार्ता नगर्ने अडान लिएका छन् । उनको भनाइले इरानको कडा नीति तथा अमेरिका–इजरायलविरुद्धको प्रतिरोधलाई थप बल पुर्याएको छ ।
यस घटनाक्रमले मध्यपूर्वमा तनाव थप चर्किएको छ । इरानले जवाफी हमला तीव्र पारेको छ भने खाडी क्षेत्रका मुलुकहरूमा सुरक्षा सतर्कता उच्च छ । लाखौं नेपाली श्रमिकहरू कार्यरत यूएई, साउदी अरेबिया, कतार, कुवेत तथा बहराइनमा पनि जोखिम बढेको छ । नेपाल सरकारले इजरायल तथा इरानमा रहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन तथा अनावश्यक यात्रा नगर्न यसअघि नै एडभाइजरी जारी गरिसकेको छ ।
प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार











प्रतिक्रिया