• तस्बिरः बीबीसी

काठमाडौं । इजराइल–अमेरिका र इरानबीच जारी युद्ध तेस्रो दिनमा प्रवेश गर्दा मध्यपूर्व क्षेत्रमा तनाव झन् चुलिँदै गएको छ।

यसैबीच बेलायतको रक्षा मन्त्रालयले साइप्रसस्थित आफ्नो सैन्य अड्डामा संदिग्ध ड्रोन आक्रमण भएको जनाएको छ। मन्त्रालयका अनुसार मध्यराति साइप्रसमा रहेको बेलायती सैन्य अड्डा आरएएफ अक्रोटिरी बेस लक्षित गरी ड्रोन आक्रमण गरिएको हो। घटनापछि बेलायती सेनाले तत्काल प्रतिरक्षात्मक कदम चालिरहेको जनाएको छ।

advertisement

बेलायती प्रधानमन्त्री कीर स्टारमरले इरानका मिसाइल अड्डाहरूमा आक्रमण गर्न अमेरिकालाई उक्त बेस प्रयोग गर्न अनुमति दिएका थिए। त्यसपछि सो सैन्य अड्डा लक्षित आक्रमणको निशानामा परेको हुन सक्ने आशंका गरिएको छ।

उता कुवेतमा अमेरिकी लडाकु विमानहरू दुर्घटनाग्रस्त भएको समाचार आएको छ। केही समय आकाशमा गोलो घुमेपछि ती विमान जमिनमा खसेका बताइएको छ। यद्यपि उक्त दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रारम्भिक जानकारी सार्वजनिक गरिएको छ।

यसैबीच इरानका उच्च राष्ट्रिय सुरक्षा अधिकारी अली लारीजानीले सोमबार अमेरिकासँग कुनै पनि प्रकारको वार्ता नगर्ने स्पष्ट पारेका छन्। इरानले अमेरिकासँग पुनः वार्ता सुरु गर्न खोजिरहेको भन्ने खबरहरूलाई उनले अस्वीकार गरेका हुन्।

अलजजिराको रिपोर्टअनुसार अमेरिका र इजराइलले संयुक्त रूपमा हालसम्म इरानका एक हजारभन्दा बढी स्थानमा आक्रमण गरेका छन्। युद्ध सुरु भएको पहिलो ३० घण्टामै दुई हजारभन्दा बढी बम खसालिएको दाबी गरिएको छ।

ती आक्रमणका कारण हालसम्म दुई सयभन्दा बढी मानिसको मृत्यु भएको छ भने सात सय ४० भन्दा बढी घाइते भएका छन्। युद्धका कारण मध्यपूर्व क्षेत्रको सुरक्षा अवस्था झन् जटिल बन्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com