काठमाडौं। मध्यपूर्वमा इजरायल–इरान द्वन्द्व चर्किँदै जाँदा कुवेतले गल्तीमा तीनवटा अमेरिकी स्ट्राइक इगल फाइटर जेट खसालेको अमेरिकी सेनाले जनाएको छ । अमेरिकी अधिकारीहरूका अनुसार कुवेतको एयर डिफेन्स प्रणालीले यी विमानहरूलाई दुश्मन सम्झेर निशाना बनाएको हो । दुर्घटनामा सबै अमेरिकी पाइलटहरू सुरक्षित रहेको बताइएको छ ।
यसैबीच इरानले साइप्रसमा रहेको बेलायती रोयल एयर फोर्सको अक्रोटिरी बेसमा ड्रोन हमला गरेको छ । बेलायतको रक्षा मन्त्रालयका अनुसार आइतबार राति भएको यस हमलामा बेसलाई सामान्य क्षति पुगेको छ तर कुनै मानवीय क्षति भएको छैन । बेलायती प्रधानमन्त्री किर स्टारमरले इरानी मिसाइल साइटहरूमा आक्रमण गर्न अमेरिकालाई यो बेस प्रयोग गर्ने अनुमति दिएका थिए । बेलायती सेनाले कारबाही गरिरहेको जनाइएको छ ।
इरानले सोमबार मध्यपूर्वका ४ देशमा रहेका ६ अमेरिकी सैन्य बेसमा हमला गरेको छ । यस क्रममा कुवेतमा अमेरिकाका धेरै फाइटर जेटहरू दुर्घटना भएको जनाइएको छ । जेटहरू हावामा केहीबेर घुमेर जमिनमा खसेका थिए । यद्यपि यसमा कुनै मानवीय क्षति भएको छैन ।
यो घटनाक्रमले मध्यपूर्वमा तनाव थप चर्किएको छ । खाडी क्षेत्रमा अमेरिकी सैन्य अड्डाहरूमाथि इरानको सघन हमला जारी रहँदा लाखौं नेपाली श्रमिकहरू कार्यरत यूएई, साउदी अरेबिया, कतार, कुवेत तथा बहराइनमा सुरक्षा जोखिम बढेको छ । नेपाल सरकारले इजरायल तथा इरानमा रहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन तथा अनावश्यक यात्रा नगर्न यसअघि नै एडभाइजरी जारी गरिसकेको छ । परराष्ट्र मन्त्रालय तथा नेपाली दूतावासहरूले नेपाली समुदायसँग सम्पर्क बढाएर सुरक्षा जानकारी प्रवाह गरिरहेका छन् ।
अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले सोमबार पत्रकार सम्मेलनमार्फत यी घटनाबारे विस्तृत जानकारी दिने कार्यक्रम तय गरेको छ । स्थिति अत्यन्त संवेदनशील बनेको छ र थप ठूलो जवाफी कारबाहीको सम्भावना बढेको छ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले आपत्कालीन बैठक बोलाउने तयारी गरेको छ ।
प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार












प्रतिक्रिया