एजेन्सी । मध्यपूर्व क्षेत्रमा जारी तनाव अझै तीव्र बन्दै गएको छ। यसबीच कुवेतमा अमेरिकाका तीन वटा स्ट्राइक इगल लडाकु विमान दुर्घटनाग्रस्त भएका छन् भने साइप्रसस्थित बेलायती सैन्य अड्डामा इरानले ड्रोन आक्रमण गरेको छ।
अमेरिकी सेनाका अनुसार कुवेतको हवाई प्रतिरक्षा प्रणालीले ती विमानलाई गल्तीवश शत्रु ठानेर निशाना बनाउँदा तीनवटै जेट खसेका हुन्। घटनामा संलग्न सबै अमेरिकी पाइलट सुरक्षित रहेको बताइएको छ।
यसैबीच, इरानले साइप्रसमा रहेको बेलायतको रोयल एयर फोर्सको अक्रोटिरी सैन्य अड्डा लक्षित गर्दै ड्रोन आक्रमण गरेको छ। बेलायतको रक्षा मन्त्रालयका अनुसार आइतबार राति भएको उक्त आक्रमणबाट अड्डामा सामान्य क्षति पुगेको छ तर कुनै मानवीय क्षति भएको छैन। घटनापछि बेलायती सेनाले प्रतिकारात्मक कदम चालिरहेको जनाएको छ।
यसअघि बेलायती प्रधानमन्त्री किर स्टारमरले इरानका मिसाइल स्थलहरूमा आक्रमण गर्न अमेरिकालाई अक्रोटिरी अड्डा प्रयोग गर्न अनुमति दिएका थिए। त्यसपछि उक्त अड्डा सम्भावित निशानामा परेको अनुमान गरिएको छ।
उता इरानले सोमबार मध्यपूर्वका चार देशमा रहेका अमेरिकाका छ वटा सैन्य अड्डामाथि पनि आक्रमण गरेको बताइएको छ। ती आक्रमणपछि कुवेतमा अमेरिकाका केही लडाकु विमानहरू दुर्घटनाग्रस्त भएको समाचारमा उल्लेख छ।
दुर्घटनाग्रस्त जेटहरू आकाशमा केहीबेर घुमेपछि जमिनमा खसेका थिए। यद्यपि उक्त घटनामा कुनै मानवीय क्षति नभएको प्रारम्भिक जानकारी सार्वजनिक गरिएको छ।
प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार












प्रतिक्रिया