काठमाडौं । रामेछापमा मतदान अधिकृत र सुरक्षाकर्मी सवार गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । रामेछापमा नगरपालिका–२ स्थित सिरुवारीमा ना.७ ख ६७६८ नम्बरको निशान गाडी सडकबाट १ सय मिटर तल खस्दा प्रहरीका असई पर्शुराम यादवको मृत्यु भएको छ।
दुर्घटनामा परेर घाइते भएकाहरूलाई काठमाडौँ ल्याइँदै छ । सेनाको हेलिकप्टरमार्फत घाइतेहरूलाई काठमाडौँ पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय रामेछापका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
सेनाको हेलिकप्टर मन्थलीमा पुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सो गाडी मतपत्र बोकेर मतदान स्थल सितलदेवी मावि सिरुवारी र रामेछाप नगरपालिका–३ स्थित वडा कार्यालय भवन जाँदै थियो । सडकमा मोड नपुगेर दुर्घटना हुँदा चालक सहितका ९ जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर कमल राउत नेतृत्वको टोलीले घाइतेहरूको उद्धार गरेर सदरमुकाम मन्थलीमा पठाएको छ । घटनास्थल मन्थलीबाट ३५ किलोमिटर पूर्वतर्फ पर्छ ।
दुर्घटना स्थलमा पुगेर सशस्त्रको विपद् उद्धार बेस खुर्कोटको टोलीले पनि उद्धार कार्य गरिरहेको छ।
प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया