काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान सकिएपछि राष्ट्रिय संवाद गर्न प्रस्ताव अघि सारेका छन्।
सोमबार ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय संवादका लागि प्रस्ताव अघि सारेका हुन्।
‘प्रधानमन्त्रीको उम्मदेवार घोषणा गरेर जाने तर प्रधानमन्त्रीका उम्मेदवारहरू राख्न सकिएन। यसमा हाम्रो तर्फबाट हाम्रो उम्मेदवार ल्याउन तयार छौं भनेका थियौं। अब त्यो समय गुज्रियो। अब के यो सम्भव होला?,’ उनले भने, ‘व्यक्तिगत रूपमा मैले राखेको अर्को एउटा कुरा छ। चुनाव सकिएको भोलिपल्ट मतगणनाको काम सुरू नगरेर राष्ट्रिय संवाद गर्न सकिएला?’
उनले उक्त राष्ट्रिय संवाद गर्न सरकारले चाहे सम्भव हुने र त्यसका लागि कांग्रेस तयार रहेको प्रष्ट्याए।
उक्त संवादबाट सुशासनसँग सम्बन्धित, बहुमत नपुगेमा सरकार स्थायी बनाउन के गर्ने, पाँच वर्ष एउटै प्रधानमन्त्री टिक्ने व्यवस्थाका बारेमा छलफल गर्न सकिने उनले बताए।
‘सुशासन स्थापित गर्न हामी के गर्छौं। सबभन्दा ठूलो दलले नेतृत्व गरिरहँदा बहुमत नपुगेमा हामी त्यो सरकारलाई स्थायी बनाउन के गर्छौं। आलोपालोका प्रणाली भत्काएर पाँच वर्ष प्रधानमन्त्री टिक्ने पद्धति कसरी बनाउन सक्छौं,’ उनले भने, ‘कसरी जेनजीले उठाएका मुद्दाहरूलाई नेपाली समाजमा रहेका अनेक मुद्दाहरूलाई साझा दृष्टिकोण बनाएर बाकस खोली सकेर आएको परिणामलाई स्वीकारेर संसदको पहिलो बैठकबाट त्यसलाई कार्यान्वयनको प्रक्रियामा राष्ट्रिय सहमतिको डकुमेन्ट लिएर जान सक्छौं। यी सबै कुराका लागि नेपाली कांग्रेस पार्टी खुला छ।’
शर्माले आउँदो निर्वाचन पछि नेपाली कांग्रेस पहिलो दल बन्ने पनि दाबी गरे। उनले प्रत्यक्ष र समानुपातिक दुबै तर्फबाट पहिलो बन्ने दाबी गरेका हुन्।
प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया