काठमाडौं। मध्यपूर्वमा इजरायल–अमेरिका–इरानबीच जारी द्वन्द्वका कारण कुवेत सिटीको राजधानी क्षेत्रमा खसेको छर्राबाट घाइते भएकी ११ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु भएको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले बुधबार (मार्च ४) मा यो जानकारी पुष्टि गरेको हो ।

कुवेत सिटीको आवासीय क्षेत्रमा भएको घटनामा घाइते भएलगत्तै आपतकालीन स्वास्थ्य टोली घटनास्थलमा पुगेको थियो । एम्बुलेन्समा राखेर अल-अमिरी अस्पतालतर्फ लैजाने क्रममा पुनर्जीवन प्रयास गरिएको थियो । अस्पताल पुगेपछि पनि करिब आधा घण्टासम्म उपचार जारी राखिए पनि बालिकाको ज्यान बचाउन नसकिएको मन्त्रालयले जनाएको छ ।

advertisement

घटना कुवेतमा इरानको जवाफी हमलाका क्रममा भएको छर्रा वा मिसाइलका टुक्राबाट भएको प्रारम्भिक जानकारी छ । कुवेतमा कार्यरत नेपालीहरूको संख्या करिब १ लाख छ । यस्ता घटनाले खाडी क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायमा त्रास बढाएको छ ।

नेपाल सरकार तथा कुवेतस्थित नेपाली राजदूतावासले घटनाको विस्तृत जानकारी सङ्कलन गरिरहेको छ । मृतक बालिकाको परिवार तथा आफन्तलाई सहयोग तथा शव व्यवस्थापनका लागि आवश्यक कदम चाल्ने तयारी भइरहेको बताइएको छ ।

परराष्ट्र मन्त्रालयले कुवेतमा रहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन तथा स्थानीय सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेको छ । मध्यपूर्वको यो तनावले नेपाली श्रमिकहरूको सुरक्षामा गम्भीर जोखिम बढाएको छ ।

प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com