काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार किशोरी साहले आफ्नो उम्मेदवारी खारेज गरिएको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
निर्वाचन आयोगले उनको उम्मेदवारी रद्द गरेपछि साहले आफ्नो उम्मेदवारी कायम गरिनुपर्ने मागसहित आयोगलाई विपक्षी बनाएर रिट दिएका हुन्। तर उक्त रिटमाथिको सुनुवाइ भने फागुन २१ मा हुने निर्वाचनपछि मात्र हुने भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार मुद्दाको पेसी फागुन २५ गतेका लागि तोकिएको छ।
ठेक्कापट्टा व्यवसायबाट राजनीतिमा प्रवेश गरेका साहको उम्मेदवारी कालोसूचीमा रहेको भन्दै परेको उजुरीपछि निर्वाचन आयोगले खारेज गरेको हो। ‘किशोर कन्स्ट्रक्सन’ का सञ्चालक किशोरीलाल साहलाई कर्जा सूचना केन्द्रको वेबसाइटमा २०७९ असोज ३१ र २०८० पुस ६ मा कालोसूचीमा राखिएको उल्लेख छ। यही आधारमा निर्वाचन आयोगले निर्वाचनको दुई दिनअघि उनको उम्मेदवारी रद्द गरेको हो।
धनुषा–१ मा नेकपा एमालेका रामचन्द्र मण्डल, नेपाली कांग्रेसका रामपल्टन साह र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मातृकाप्रसाद यादव उम्मेदवार रहेका छन्। यस क्षेत्रमा बिहीबार मतदान हुँदैछ।
प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया