ललितपुर । ललितपुरका दुई फरक स्थानमा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण भएको छ। चाँगाथली र झम्सीखेलमा भएका घटनामा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।
महालक्ष्मी नगरपालिका–७ चाँगाथलीमा आइतबार राति गस्तीमा रहेको प्रहरी टोलीमाथि स्थानीय युवाहरूले आक्रमण गरेका हुन्। प्रहरी प्रभाग लुभुबाट खटिएको क्विक रेस्पोन्स टिम (क्यूआरटी) माथि ढुङ्गामुढा भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको थियो।
आक्रमणबाट घाइते भएका प्रहरी कर्मचारीको इमाडोलस्थित किष्ट अस्पतालमा उपचार भइरहेको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मकवानपुरका २९ वर्षीय बुद्ध तामाङ (विकास), सल्यानका २० वर्षीय रमेश शाही र शंकर शाही तथा रुकुमका २२ वर्षीय राजु मगर रहेका छन्। उनीहरूलाई थप अनुसन्धानका लागि ललितपुर जिल्ला अदालतले आठ दिन हिरासतमा राख्न अनुमति दिएको प्रहरीले जनाएको छ।
यसैबीच, शनिबार राति ललितपुर महानगरपालिका–३ सानेपा, झम्सीखेलस्थित ‘द ग्रोभ’ रेष्टुरेन्ट बाहिर पनि प्रहरीमाथि कुटपिट भएको छ। मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा होहल्ला गरिरहेका युवाहरूलाई सम्झाउन पुगेको प्रहरी प्रभाग सानेपाको टोलीमाथि उनीहरूले नै आक्रमण गरेका थिए।
प्रहरीका अनुसार सम्झाउन खोज्दा आक्रोशित बनेका ती युवाहरूले प्रहरीमाथि अश्लील शब्द प्रयोग गर्दै लात्ता, मुक्का र लाठीले प्रहार गरेका थिए। उक्त घटनामा घाइते भएका प्रहरीको जावलाखेलस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ।
घटनामा संलग्न आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूविरुद्ध हुलहुज्जत र कुटपिट सम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया