काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको तथ्य सार्वजनिक भएको छ।
कर्जा सूचना केन्द्रको अभिलेख अनुसार कलवारलाई २०८१ मंसिर ५ गते कालोसूचीमा राखिएको उल्लेख छ र उक्त स्थिति हालसम्म यथावत् रहेको देखिन्छ।
यसअघि कालोसूचीमै रहेको आधारमा धनुषा–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरी साहको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो। सोही सन्दर्भमा कलवारको नाम पनि कालोसूचीमा रहेको तथ्य बाहिर आएको हो।
निर्माण व्यवसायसँग आबद्ध कलवारमाथि विभिन्न ठेक्का लिएर आयोजना अलपत्र पारेको आरोपसमेत लाग्दै आएको छ।
गत प्रतिनिधिसभा निर्वाचनमा भने उनी नेकपा (माओवादी केन्द्र) का तर्फबाट उम्मेदवार बनेका थिए। त्यसबेला एमालेका हरिप्रसाद उप्रेतीसँग उनी झिनो मतान्तरले पराजित भएका थिए। हाल भने उनी रास्वपाबाट सर्लाही–३ मा उम्मेदवार बनेका छन्।

प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया