सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले रङहरूको पर्व होलीको अवसरमा अस्ट्रेलियामा बसोबास गर्ने हिन्दु तथा दक्षिण एसियाली समुदायलाई शुभकामना दिएका छन्।
सन् २०२६ मार्चमा जारी गरेको सन्देशमा प्रधानमन्त्री अल्बानिजले होलीलाई साझा इतिहास, संस्कृति र परम्परालाई उत्सवका रूपमा मनाउने महत्वपूर्ण अवसरका रूपमा उल्लेख गरेका छन्। उनले होलीले असत्यमाथि सत्यको विजय, मित्रता, क्षमाशीलता र मानवीय एकताको सन्देश फैलाउने पर्व भएको बताएका छन्।
उनका अनुसार होलीले मानिसहरूलाई आत्मिक रूपमा नयाँ ऊर्जा प्राप्त गर्ने र आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने अवसर प्रदान गर्छ।
प्रधानमन्त्री अल्बानिजले आधुनिक अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा होलीजस्ता पर्वले विशेष महत्व राख्ने उल्लेख गर्दै यहाँका विभिन्न पृष्ठभूमिका नागरिकहरूले पनि यस पर्वलाई उत्साहका साथ मनाउने गरेकोमा खुसी व्यक्त गरे।
उनले यस्ता चाडपर्वहरूले विश्वका विभिन्न भागबाट आएका मानिसहरूको संस्कृति, विश्वास र अनुभवले अस्ट्रेलियाली समाजलाई अझ समृद्ध बनाइरहेको सन्देश दिने बताए।
‘हामी एकअर्काका भिन्नताहरूलाई सम्मान गर्छौँ र अस्ट्रेलियाली पहिचानमा एकताबद्ध हुन्छौँ,’ उनले सन्देशमा उल्लेख गरेका छन्।
प्रधानमन्त्री अल्बानिजले यस वर्षको होलीले समुदायबीचको मित्रता अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै रङहरू उडेर गएपछि पनि आपसी सम्बन्धको मिठास र एकताको भावना कायम रहोस् भन्ने कामना गरेका छन्।

प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया