काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सम्पूर्ण मतदातालाई निर्भीक भएर मतदान गर्न आह्वान गरेका छन्।
निर्वाचनको सञ्चालन र व्यवस्थापनसम्बन्धी सबै तयारी पूरा भइसकेको जानकारी दिँदै उनले मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेका हुन्।
‘निर्वाचन लोकतान्त्रिक शासनको आधारशिला हो । जनाले रोजेको प्रतिनिधिमार्फत शासन सञ्चालन गर्ने अधिकारलाई निर्वाचनले नै वैधता र सुनिश्चितता दिन्छ,’ भण्डारीले भने। उनले भोलि २०८२ फागुन २१ गते आ–आफ्ना मतदान केन्द्रमा उपस्थित भइ नडरी मतदान गर्न सबै मतदातालाई हार्दिक अनुरोध गरेका छन्।
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचनले नेपालको संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई अझ सुदृढ र परिपक्व बनाउने विश्वास व्यक्त गरे। उनले भने, ‘निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोग पूर्ण रूपमा तयार छ।’
भण्डारीले मतदानलाई मतदाताको नैसर्गिक अधिकार मात्र नभई कर्तव्य पनि भएको उल्लेख गर्दै हरेक मतको मूल्य बराबर हुने र राजनीतिक व्यवस्था, सरकार, नीति तथा नेतृत्वको स्वरूप निर्धारणमा हरेक मतको ठूलो भूमिका हुने बताए।
उहाँले मतदातालाई आग्रह गर्दै भने, ‘निर्वाचनलाई कुनै अवाञ्छित गतिविधिबाट प्रभावित नहुन दिँदै, आस्था, विचार, सिद्धान्त र निष्ठाका आधारमा परिचालित वातावरण सुनिश्चित गर्न आयोग दृढ छ। सुसूचित मतदानले नागरिकको राजनीतिक सचेतना, सामाजिक जिम्मेवारी र शासनप्रतिको अपनत्व बढाउँछ।’
प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया