काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार डा. तोसिमा कार्कीले ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट मतदान गरेकी छन् । विहीबार बिहान ललितपुर–१८ स्थित मतदान केन्द्र पुगेर उनले आफ्नो मताधिकार प्रयोग गरिन् ।
मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्कीले मतदातामा उल्लेखनीय उत्साह देखिएको बताइन् । उनले भनिन्, “जनताहरूमा धेरै उत्साह छ । देश–विदेशबाट नेपालीहरू भोट हाल्नकै लागि स्वदेश आउनुभएको छ । उपत्यकाभित्रका पनि थुप्रै भोट हाल्न आफ्नो गाउँ फर्किएका छन् । यो पटक आफ्नो एक भोट पनि छुटाउनु हुँदैन । सबैलाई यो इतिहास रच्ने समय हो । आफ्नो मत नछुटाउन समेत आग्रह गर्दछु । परिवर्तनको पक्षमा मत छुट्यो भने पछुतो हुनेछ । लोकतन्त्रमा ठूलो हतियार भनेको जनताको आफ्नो मतअधिकार हो ।”
उनले परिवर्तनको पक्षमा मत नदिए पछुतो हुन सक्ने भन्दै लोकतन्त्रमा जनताको सबैभन्दा ठूलो हतियार मताधिकार नै भएको उल्लेख गरिन् । डा. कार्कीले मतदातालाई परिवर्तनको पक्षमा मतदान गर्न र आफ्नो अधिकार प्रयोग गर्न विशेष आग्रह गरेकी छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान जारी छ । प्रारम्भिक जानकारीअनुसार देशभर मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक उपस्थिति रहेको छ । सुरक्षा व्यवस्था कडा पारिएको छ र निर्वाचन शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको प्रहरी तथा निर्वाचन आयोगले जनाएको छ ।
डा. तोसिमा कार्कीको यो मतदान तथा आग्रहले निर्वाचनको महत्व र परिवर्तनको सन्देशलाई थप जोड दिएको छ ।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया