काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गरेपछि आफूलाई प्राप्त कर्तव्य पूरा गरेको बताएकी छन् ।
काठमाडौंको धापासी हाइटस्थित मतदान केन्द्र पुगेर मतदान गरेकी प्रधानमन्त्री कार्कीले मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भनिन्, “हामीलाई दिएको कर्तव्य पूरा गर्यौं, म आज खुसी छु । आज देशमा निर्वाचन भयो ।”
उनले निर्वाचनलाई शान्तिपूर्ण, उत्साहपूर्ण र सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गरिन् । भदौ २३ र २४ गते भएको प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । सोही दिन प्रतिनिधिसभा विघटन गरी फागुन २१ गते निर्वाचनको मिति तोकिएको थियो ।
प्रधानमन्त्री कार्कीको नेतृत्वमा यो निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार तथा सुरक्षा निकायहरूले उच्च सतर्कता अपनाएका थिए । देशभर मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक सहभागिता रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
प्रधानमन्त्री कार्कीले निर्वाचनपछि बन्ने नयाँ सरकारलाई सहयोग तथा समन्वय गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छन् । निर्वाचनको सम्पूर्ण प्रक्रिया सफलतापूर्वक सम्पन्न भएकोमा उनले सबै मतदाता, सुरक्षा निकाय तथा निर्वाचन आयोगलाई धन्यवाद दिएकी छन् ।
मतगणना जारी छ । मतपरिणाम आउनासाथ नयाँ प्रतिनिधिसभाको गठन तथा सरकार निर्माणको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार












प्रतिक्रिया