काठमाडौं। सर्लाही क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेले मतदान शान्तिपूर्ण रूपमा भइरहेको बताएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज भएको मतदानमा केही ठाउँमा स–साना विवाद भए पनि कर्मचारी तथा सुरक्षाकर्मीको समन्वयमा समाधान गरेर मतदान जारी रहेको उनको भनाइ छ ।

अनलाइनखबरसँग कुरा गर्दै घिमिरेले भने, “यहाँ शान्तिपूर्ण रूपमै निर्वाचन भइरहेको छ । मतदाताले राम्रोसँग मत खसाल्न पाइरहनुभएको छ । स–साना कुरालाई लिएर सामान्य विवादहरू भएका थिए । कर्मचारी, सुरक्षाकर्मीले सम्झाइबुझाइ गरेपछि रोकिएका ठाउँमा पनि पुनः मतदान भइसके । अहिले ५० प्रतिशतभन्दा बढी मत खसिसकेको छ ।”

advertisement

उनले साँझ ८ बजेसम्म सबै मतदान स्थल तथा केन्द्रबाट मतपेटिका संकलन गरिसक्ने र मतगणना सुरु गर्ने तयारी रहेको बताए । “साँझ ८ बजेसम्म सबै मतदान स्थल–केन्द्रको मतपेटिका गणनास्थलमा ल्याइसक्छौं,” उनले भने, “हामी आजै सर्वदलीय बैठक राखेर मतगणना सुरु गर्ने तयारीमा छौं ।”

सर्लाही–४ को मतगणना वेणी भोला माध्यमिक विद्यालय गोडैतामा गर्ने व्यवस्था मिलाइएको छ । निर्वाचन अधिकृत घिमिरेले केही मतदान केन्द्र तथा मतगणना स्थल २० किलोमिटरसम्म टाढा रहेको बताए ।

यो क्षेत्रमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंहलगायत उम्मेदवारहरूबीच मुख्य प्रतिस्पर्धा रहेको छ । मतदान केन्द्रहरूमा मतदाताको उपस्थिति राम्रो रहेको र मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भइरहेको प्रहरी तथा निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतदान दिउँसो ५ बजेसम्म जारी रहनेछ । मतगणना सुरु भएपछि प्रारम्भिक परिणामहरू क्रमशः आउन थाल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com