काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन संवाद गर्दै पश्चिम एसियामा विकसित पछिल्लो परिस्थितिप्रति चिन्ता व्यक्त गरेकी छन्।

प्रधानमन्त्री कार्कीले बिहीबार भएको उक्त टेलिफोन वार्तामा पश्चिम एसियामा बढ्दो तनावप्रति नेपालले गम्भीर चासोका साथ निगरानी गरिरहेको बताउँदै सबै पक्षलाई संयमित रहन, द्वन्द्वलाई थप नबढाउन र नागरिक सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेकी हुन्।

advertisement

उनले कतारमा कार्यरत करिब ३ लाख ६० हजार नेपाली नागरिकलाई सुरक्षा र संरक्षण प्रदान गरेकोमा नेपाल सरकार र नेपाली जनताको तर्फबाट आभार व्यक्त गरिन्। ‘कतारमा रहेका नेपाली नागरिक सुरक्षित छन् र राम्रोसँग हेरचाह भइरहेको खबरले अत्यन्त खुसी लागेको छ,’ प्रधानमन्त्री कार्कीले भनिन्।

नेपालले अन्तर्राष्ट्रिय समुदायले संयुक्त राष्ट्र संघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन, जेनेभा अभिसन्धि तथा मानवीय कानुनको सम्मान र पालना गर्नुपर्नेमा जोड दिएको साथै, कुनै पनि अवस्थामा युद्ध शान्तिको विकल्प हुन नसक्ने उल्लेख गर्दै दीर्घकालीन शान्ति केवल वार्ता र कूटनीतिक माध्यमबाट सम्भव हुने धारणा गरेकी छन्।

प्रधानमन्त्री कार्कीले कतारको सार्वभौम भूमिमा विशेषगरी गैरसैनिक क्षेत्रमा भएका आक्रमणप्रति गहिरो चासो व्यक्त गर्दै वर्तमान चुनौतीपूर्ण परिस्थितिमा कतारले संयमित र रचनात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन्। साथै, आगामी दिनमा उच्चस्तरीय भ्रमण, आर्थिक तथा सांस्कृतिक सहकार्य र जनस्तरको सम्बन्धमार्फत नेपाल–कतार सम्बन्ध अझ सुदृढ हुने अपेक्षा पनि व्यक्त गरिन्।

 

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com