काठमाडौं। क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले मध्यपूर्वमा बढ्दै गएको इजरायल–इरान द्वन्द्वमा आफ्नो देशको सैन्य सहभागिताको सम्भावनालाई पूर्ण रूपमा नकार्न नसकिने बताएका छन् ।

अस्ट्रेलियाको राजधानी क्यानबेरामा बिहीबार आफ्ना समकक्षी एन्थोनी अल्बानिजसँगको द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा कार्नीले भने, “हामी हाम्रा सहयोगीहरूको साथमा उभिनेछौं । क्यानेडियन नागरिकहरूको रक्षा सधैं गर्नेछौं ।”

advertisement

यद्यपि उनले अमेरिका र इजरायलले इरानमाथि गरेको सैन्य आक्रमणलाई ‘अन्तर्राष्ट्रिय कानुन विपरीत’ देखिएको टिप्पणी गरे । प्रधानमन्त्री कार्नीले शनिबार सुरु भएको आक्रमणबारे क्यानाडालाई कुनै अग्रिम जानकारी नदिइएको र सहभागी हुन पनि नभनिएको स्पष्ट पारे । उनले संयुक्त राष्ट्रसंघ वा सहयोगी राष्ट्रहरूसँग परामर्श नगरी गरिएको यो सैन्य हस्तक्षेपले विश्व व्यवस्थामा गम्भीर असर पुर्‍याएको भन्दै चिन्ता व्यक्त गरे ।

यसैबीच क्यानाडाकी विदेशमन्त्री अनिता आनन्दले मध्यपूर्वमा रहेका करिब २ हजार क्यानेडियन नागरिकको उद्धारका लागि पहल भइरहेको जानकारी दिइन् । विशेषगरी संयुक्त अरब इमिरेट्स, कतार र लेबनानमा रहेका आफ्ना नागरिकहरूलाई चार्टर उडानमार्फत सुरक्षित स्थानमा लैजाने तयारी भइरहेको उनले बताइन् ।

यो टिप्पणी मध्यपूर्वमा जारी द्वन्द्व छैटौं दिनमा पुग्दै गर्दा आएको हो । इरानले जवाफी आक्रमण तीव्र पारेको र अमेरिका–इजरायल गठबन्धनले सैन्य कारबाही जारी राखेको अवस्थामा क्यानडाले आफ्नो रणनीतिक स्थिति स्पष्ट पारेको छ । क्यानडाले परम्परागत रूपमा अमेरिका तथा नेटो सहयोगीहरूसँग समन्वय गर्दै आए पनि यसपटकको आक्रमणमा प्रत्यक्ष संलग्नता नरहेको जोड दिएको छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com