रौतहट। रौतहटको राजपुर नगरपालिका–९ बैरियास्थित मतदान केन्द्रमा अर्काको नाममा मत खसाल्न खोजेको आरोपमा एकजना युवक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार बैरिया अनाथालयस्थित मतदान केन्द्रमा १८ वर्षीय अरजे हयातले स्थानीय महमद आसिकको नाममा मतदान गर्न खोजेपछि विवाद उत्पन्न भएको थियो । स्थिति तनावपूर्ण बनेपछि प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी विष्णुप्रदिप बस्यालले भने, “उनले वास्तवमा अर्काको नाममा मत खसाल्न खोजेका हुन् वा होइनन् भन्ने विषयमा यकिन भइसकेको छैन । हामी अनुसन्धान गरिरहेका छौं ।” घटनाको थप विवरण सङ्कलन भइरहेको र दोषी ठहर भएमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही अघि बढाइने उनले बताए ।
प्रहरीले निर्वाचन प्रक्रियालाई प्रभावित पार्ने यस्ता गतिविधिमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ । यो घटना मतदानको दिन देखिएको छिटपुट घटनामध्ये एक हो । समग्रमा रौतहट जिल्लामा मतदान शान्तिपूर्ण रूपमा भइरहेको र ठूलो अवरोध नभएको प्रहरीले जनाएको छ ।
फागुन २१ गतेको यो निर्वाचनमा मतदान दिउँसो ५ बजेसम्म जारी रहनेछ । मतदानपछि मतगणना सुरु हुने र प्रारम्भिक परिणामहरू क्रमशः आउने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया