काठमाडौं । नेपाली कांग्रेसले मतदाताको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको अडिग विश्वास र प्रतिबद्धता पुनः प्रकट भएको बताएका छन्।
पार्टी सभापति गगनकुमार थापा ले मतदान सम्पन्न भएपछि जारी गरेको विज्ञप्तिमा निर्वाचनमा सहभागी भई आफ्नो अमूल्य मताधिकार प्रयोग गर्ने सबै मतदाताप्रति पार्टीको तर्फबाट सम्मान र कृतज्ञता व्यक्त गरेका छन्।
सभापति थापाले भने, ‘तपाईंहरूको सक्रिय सहभागिताले लोकतान्त्रिक प्रणालीप्रति तपाईंहरूको गहिरो विश्वास पुष्टि भएको छ भने, राजनीतिक दल र आगामी सरकारलाई जनअपेक्षा अनुसार काम गर्न थप जिम्मेवार बनाएको छ।’
उनले केही निर्वाचन क्षेत्रमा मात्र साना विवाद भए तापनि देशभर शान्तिपूर्ण वातावरणमा मतदान सफलतापूर्वक सम्पन्न भएकोमा सरकार र निर्वाचन आयोगप्रति विशेष धन्यवाद दिएका छन्।
‘निर्वाचन सफल बनाउन अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायप्रति हार्दिक आभार व्यक्त गर्दछौं। साथै निर्वाचनमा जिम्मेवारीपूर्वक भूमिका निभाउने राजनीतिक दल, सञ्चारकर्मी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू प्रति पनि हाम्रो धन्यवाद,’ सभापति थापाले विज्ञप्तिमा उल्लेख गरेका छन्।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया