रामेछाप। रामेछाप जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम मन्थलीमा सुरक्षित रूपमा सङ्कलन गरिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज बिहानसम्म जिल्लाभरका ९६ मतदानस्थलअन्तर्गत रहेका २ सय ३० मतदान केन्द्रबाट मतपेटिका ल्याइसकिएको छ ।

मतपेटिका सङ्कलन कार्य पूरा भएसँगै अब मतगणनाको प्रक्रिया अघि बढाउने तयारी गरिएको छ । कार्यालयले आज बिहान ९ बजे सर्वदलीय बैठक बोलाएको छ । उक्त बैठकमा मतगणनासम्बन्धी प्रक्रिया, सुरक्षा व्यवस्था तथा अन्य व्यवस्थापनका विषयमा छलफल गरिने छ । सर्वदलीय बैठक सम्पन्न भएपछि मात्र औपचारिक रूपमा मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

advertisement

मतगणनाका लागि मन्थलीस्थित मालपोत कार्यालय परिसरमा मतगणनास्थल तयार पारिएको छ । आवश्यक सुरक्षा व्यवस्था तथा कर्मचारी तथा दलका प्रतिनिधिहरूलाई तयारी अवस्थामा राखिएको छ ।

रामेछापमा यसपटक कुल १ लाख ८७ हजार ९ सय ५२ मतदाता रहेका थिए । तीमध्ये ९० हजार ७ सय १० मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यो कुल मतदाताको करिब ४८ प्रतिशत हो । मतदान सम्पन्न भएपछि जिल्लाभरबाट मतपेटिका सङ्कलन गरी सदरमुकाम ल्याउने कार्य पूरा भएसँगै अब सबैको ध्यान मतगणनातर्फ केन्द्रित भएको छ । मतगणना सुरु भएपछि प्रारम्भिक परिणामहरू क्रमशः सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com