म्याग्दी। म्याग्दीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ । धवलागिरी गाउँपालिका–१ बाट सुरु भएको गणनाको प्रारम्भिक चरणमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार अर्जुन थापाले अग्रता लिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय म्याग्दीका अनुसार धवलागिरी–१ को मतगणनामा थापाले २०१ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार तथा समाजसेवी महावीर पुनले ६१ मतसहित दोस्रो स्थान प्राप्त गरेका छन् । नेपाली कांग्रेसका केबी भण्डारीले ३७ मत र नेकपा (एमाले) का हरिकृष्ण श्रेष्ठले ८ मत ल्याएका छन् ।
मतगणना क्रममा नेकपाको अग्रता देखिए पनि यो केवल प्रारम्भिक चरणको हो । जिल्लाभरका अन्य मतदान केन्द्रहरूबाट प्राप्त मतपेटिकाको गणना जारी रहेकाले अन्तिम परिणाममा फरक पर्न सक्छ ।
म्याग्दीमा यसपटकको निर्वाचनमा महावीर पुनको स्वतन्त्र उम्मेदवारीले निकै चर्चा बटुलेको थियो । तर प्रारम्भिक मतपरिणाममा नेकपाका थापाले अगाडि बढेको देखिएको छ । मतगणना प्रक्रिया शान्तिपूर्ण तथा पारदर्शी रूपमा भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतगणना सम्पन्न भएपछि औपचारिक विजेता घोषणा गरिनेछ । म्याग्दीमा कुल मतदाता सङ्ख्या र मत खसेको प्रतिशतबारे थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार












प्रतिक्रिया