रुपन्देही । गुल्मी निर्वाचन क्षेत्र नं १ मा मतगणना सुरु भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकालले स्पष्ट अग्रता कायम गरेका छन् । प्रारम्भिक मतपरिणाममा उनले नेकपा (एमाले) का वरिष्ठ नेता प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई पछि पार्दै अगाडि बढेका हुन् ।
मतगणनाको पहिलो सार्वजनिक अपडेटअनुसार जम्मा ६३९ मत गणना हुँदा ढकालले २४३ मत प्राप्त गरेका छन् । कांग्रेसका चन्द्र भण्डारीले १०३ मत, एमालेका प्रदीप ज्ञवालीले ११८ मत र नेकपा (माओवादी केन्द्र) का सुदर्शन बरालले १२९ मत ल्याएका छन् ।
ढकाल यसअघि २०७९ को निर्वाचनमा डडेलधुराबाट तत्कालीन कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्दै चर्चामा आएका थिए । गुल्मी घर भएका इन्जिनियर ढकालले यसपटक आफ्नै गृहजिल्लाबाट उम्मेदवारी दिएका हुन् ।
यो क्षेत्रमा एमालेका सिनियर नेता प्रदीप ज्ञवाली, कांग्रेसका चन्द्र भण्डारी र नेकपाका प्रदेश अध्यक्ष सुदर्शन बरालसँग प्रतिस्पर्धा रहेको थियो । प्रारम्भिक मतपरिणाममा ढकालको अग्रताले नयाँ शक्तिको प्रभावलाई देखाएको छ ।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ । निर्वाचन अधिकृतको कार्यालयले मतगणना प्रक्रिया पारदर्शी तथा शान्तिपूर्ण रूपमा अघि बढिरहेको जनाएको छ । गुल्मी क्षेत्र नं १ मा मतदाताको सहभागिता राम्रो रहेको र मतगणना क्रममा थप रोचकता थपिएको छ ।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार












प्रतिक्रिया