काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी विद्रोहपछि सम्पन्न आमनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पक्षमा देखिएको जनसमर्थनलाई ‘शान्त विद्रोह’को रूपमा व्याख्या गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले देशभर देखिएको जनलहरलाई सुशासन, परिवर्तन र समृद्धिका लागि जनताले व्यक्त गरेको स्पष्ट सन्देश भएको बताएका छन्।
उनले नवोदित राजनीतिक शक्तिको पक्षमा देखिएको यो जनसमर्थनलाई सबै राजनीतिक दलले स्वीकार गर्नुपर्ने उल्लेख गरेका छन्। भट्टराईका अनुसार मुलुकले लामो समयदेखि सामना गर्दै आएका आन्तरिक आर्थिक–राजनीतिक समस्या तथा बाह्य भू–राजनीतिक चुनौतीहरूको प्रभावकारी व्यवस्थापन गर्नु अबको प्रमुख जिम्मेवारी बनेको छ।
रास्वपा र त्यसको नेतृत्वले जनताका जायज अपेक्षालाई यथाशीघ्र सम्बोधन गर्न सकोस् भन्ने कामना गर्दै उनले सफलताको शुभकामना व्यक्त गरेका छन्। पुराना राजनीतिक दलहरू जनभावना बुझ्न असफल भइरहेका बेला रास्वपाको उदयले नेपाली राजनीतिमा नयाँ आयाम थपेको उनको भनाइ छ।
नयाँ नेतृत्वका लागि आगामी यात्रा चुनौतीपूर्ण भए पनि जनताबाट प्राप्त अभूतपूर्व समर्थनलाई अवसरका रूपमा रूपान्तरण गर्नुपर्नेमा उनले जोड दिएका छन्। साथै, रास्वपाको सफलताले मुलुकले सामना गरिरहेका वर्तमान संकटहरूको समाधानमा सकारात्मक योगदान पुर्याउने विश्वास पनि उनले व्यक्त गरेका छन्।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार












प्रतिक्रिया