मोरङ। प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा मोरङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जिल्ला सदस्य तथा उम्मेदवारका प्रतिनिधि दुर्गा रेग्मीको हृदयघातका कारण मृत्यु भएको छ ।

रंगेली–९ बस्ने ५० वर्षीय रेग्मी मतगणना स्थल नजिकै खाना खाने क्रममा अचानक बेहोस भएर ढलेका थिए । उनलाई तत्काल रंगेली अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले मृत घोषणा गरेका हुन् ।

advertisement

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालका अनुसार रेग्मी रास्वपा उम्मेदवार कृष्ण कार्कीका मतगणना प्रतिनिधि थिए । मतगणना सुरु भएको केही समयपछि उनी मतगणना स्थल नजिकै बेहोस भएका थिए । घटनास्थलमा नै प्रहरी तथा स्वास्थ्यकर्मी पुगे पनि बचाउन नसकिएको उनले बताए ।

मृतकको शवलाई पोस्टमार्टमका लागि कोसी अस्पताल विराटनगरमा लगिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

यो घटनाले मतगणना प्रक्रियामा क्षणिक तनाव उत्पन्न गरेको थियो तर मतगणना भने निरन्तर जारी रहेको छ । रास्वपा तथा स्थानीय राजनीतिक दलहरूले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । निर्वाचन आयोग तथा स्थानीय प्रशासनले घटनाको बारेमा जानकारी सङ्कलन गरिरहेका छन् ।

फागुन २१ गते सम्पन्न निर्वाचनको मतगणना क्रममा देशभर शान्तिपूर्ण वातावरण कायम रहे पनि यस्ता दु:खद घटनाले सबैलाई स्तब्ध पारेको छ ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com