ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले जिल्लाको मिरिङदेन गाउँपालिका–४ लिङ्तेपस्थित मतदान केन्द्रमा बुथ कब्जा गरी अस्वाभाविक रूपमा मतदान गराइएको आरोप लगाउँदै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।

रास्वपाका प्रत्यक्षतर्फका उम्मेदवार वीरेन्द्र श्रेष्ठले मुख्य निर्वाचन अधिकृतलाई पत्र पठाउँदै उक्त वडामा व्यापक धाँधली भएको दाबी गरेका छन्। उनका अनुसार देशभर औसत करिब ५१ प्रतिशत मात्र मतदान भएको अवस्थामा लिङ्तेप मतदान केन्द्रमा ८८ प्रतिशत मत खस्नु अत्यन्तै अस्वाभाविक र शंकास्पद देखिएको छ।

advertisement

रास्वपाले उक्त केन्द्रमा मृतक तथा वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूको नाममा समेत गैरकानुनी रूपमा मतदान गराइएको आरोप लगाएको छ। पार्टीका अनुसार बुथ कब्जा गरेर एकलौटी रूपमा मतदान गराइएको र खसेको कुल मतमध्ये करिब ३७ प्रतिशत मत फर्जी भएको आशंका गरिएको छ।

फर्जी मतदानको यकिन गर्न मतदाता नामावली र मतपत्रको अर्धकट्टी सनाखत गर्नुपर्ने माग रास्वपाले गरेको छ। साथै, सो घटनाको निष्पक्ष छानबिन र सत्यतथ्य सार्वजनिक नभएसम्म ताप्लेजुङमा भइरहेको मतगणना प्रक्रियामा सहभागी नहुने पार्टीले स्पष्ट पारेको छ।

निर्वाचनअघि भएको सर्वदलीय बैठकमा रास्वपाले लिङ्तेप क्षेत्रमा बुथ कब्जाको सम्भावना रहेको भन्दै सुरक्षा र निष्पक्षताका लागि ध्यानाकर्षण गराए पनि त्यसलाई बेवास्ता गरिएको भन्दै पार्टीले असन्तुष्टि व्यक्त गरेको छ। नागरिकको सार्वभौम मताधिकारमाथि गम्भीर आघात पुग्ने गरी भएको यस्तो गतिविधिले लोकतान्त्रिक प्रक्रियामाथि नै प्रश्न उठाएको रास्वपाको भनाइ छ।

यता, निर्वाचन कार्यालयले भने मतगणना प्रक्रिया सुरु गरिसकेको छ। प्रारम्भिक मतपरिणामअनुसार ताप्लेजुङमा नेकपाका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीले अग्रता लिएका छन्।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com