काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनमा हिमाली क्षेत्रका १५ जिल्लामध्ये तीन जिल्लाको मतपत्र ढुवानी गर्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । मौसमका कारण सङ्खुवासभा, डोल्पा र गोरखाको मतपत्र अझै सदरमुकाम पुग्न सकेको छैन ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बिहीबार बेलुकादेखि नै मौसम बिग्रिएकाले हेलिकप्टरमार्फत ढुवानी गर्न नसकिएको हो । तीन जिल्लाका हिमाली भेगका मतदान केन्द्रका मतपत्र हेलिकप्टरबाट ल्याउनुपर्नेमा मौसमले साथ नदिएपछि ढिलाइ भएको छ । मौसम सुधार भएलगत्तै आजै तीनवटै जिल्लाको मतपत्र निर्वाचन अधिकृतको कार्यालयमा पुर्याउने तयारी भइरहेको उनले बताए । मतपत्र ढुवानी भएपछि तीन जिल्लाको मतगणना सुरु हुनेछ ।
यसैगरी रसुवा, दोलखा, रुकुम (पूर्वी भाग), बाजुरा, बझाङ, हुम्ला, ताप्लेजुङ, मनाङ, मुस्ताङ, रुकुम (पश्चिमी भाग), सोलुखुम्बु र मुगुका हिमाली भेगका मतदान केन्द्रका मतपत्र भने जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पुगिसकेको आयोगले जानकारी दिएको छ ।
आयोगले स्याङ्जा, दोलखा र धनुषा जिल्ला निर्वाचन क्षेत्र नं १ को मतगणना कानुनअनुसार गर्न निर्देशन दिएको छ । धनुषा–१ मा घण्टी चिह्नमा खसेको मत छुट्याएर राखी गणना गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइएको छ ।
मतगणना प्रक्रिया विभिन्न जिल्लामा फरक–फरक गतिमा अघि बढिरहेको छ । आयोगले मतपत्र ढुवानी तथा गणना प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन उच्च सतर्कता अपनाएको जनाएको छ ।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया