काठमाडौं। अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि मध्यपूर्वमा तेल आपूर्तिमा देखिएको अवरोधलाई ध्यानमा राख्दै अमेरिकाले भारतलाई रूसी कच्चा तेल खरिद गर्न ३० दिने अस्थायी अनुमति दिएको छ ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यो निर्णयबारे जानकारी दिएका छन् । उनले भने, “मध्यपूर्वमा जारी युद्धका कारण तेल आपूर्ति अवरुद्ध भएकाले विश्व बजारमा तेलको प्रवाहलाई निरन्तरता दिन यो अल्पकालीन उपाय अपनाइएको हो । यो जानाजानी लिइएको अस्थायी व्यवस्था हो, जसले रूसी सरकारलाई कुनै ठूलो आर्थिक लाभ पुर्याउने छैन । यसले समुद्रमा अड्किएका तेलका कारोबारलाई मात्र अनुमति दिन्छ ।”
यो निर्णयसँगै भारतमा तेलको अभाव हुनबाट जोगिएको छ । भारतबाट तेल आयात गर्दै आएको नेपालमा पनि तेल आपूर्तिमा समस्या नहुने देखिन्छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुलाई अन्त्यमा भारतबाट आयात हुने सबै सामानमा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका थिए । भारतले रूसी तेल किनेको भन्दै अगस्ट अन्त्यदेखि थप २५ प्रतिशत भन्सार थपेका थिए । तर फेब्रुअरी सुरुमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोन वार्तापछि ट्रम्पले भारतमाथिको भन्सार दर घटाएर १८ प्रतिशत कायम गरेका थिए ।
त्यसको बदलामा भारतले बिस्तारै रूसी तेल किन्न छाडेर भेनेजुएलाको तेल किन्ने, अमेरिकी उत्पादनमा शून्य भन्सार लगाउने र अमेरिकाबाट ५ खर्ब डलर बराबरको आयात गर्ने प्रतिबद्धता जनाएको ट्रम्पले दाबी गरेका थिए ।
गत शनिबार इरानसँग युद्ध छेडेपछि साउदी अरब लगायत खाडी मुलुकबाट तेल आपूर्ति प्रभावित भएपछि ट्रम्पले भारतलाई थप ३० दिन रूसी तेल किन्न छुट दिएका हुन् । यो निर्णयले भारतमा तेलको अभाव टरे पनि मोदी सरकारलाई घरेलु राजनीतिमा अप्ठ्यारो परेको छ । विपक्षीहरूले भारतले तेल किन्ने निर्णयमा पनि अमेरिकाको निर्देशन मान्नुपरेको भन्दै मोदीको आलोचना गरिरहेका छन् ।
परम्परागत तटस्थ विदेश नीति छोडेर अमेरिकाको पक्षमा खुलेर लागेको आरोप खेपिरहेका मोदीलाई यो घटनाले थप दबाब सिर्जना गरेको छ ।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया