काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव डा. राजन भट्टराई, महेश बस्नेत र प्रदीप ज्ञवाली लगायतका मुख्य नेताहरू प्रतिस्पर्धामा पछाडि परेका छन् । प्रारम्भिक मतगणनामा अधिकांश क्षेत्रमा एमालेका यी नेताहरू भारी मतान्तरले पछाडि परेका छन् ।
झापा–५ मा अध्यक्ष केपी शर्मा ओली रास्वपाका बालेन शाहसँग ५ हजार १२३ मतान्तरले पछाडि परेका छन् । दाङ–२ मा महासचिव शंकर पोखरेल रास्वपाका विपिन आचार्यसँग तेब्बरभन्दा बढी मतान्तरले पछाडि छन् । रुपन्देही–२ मा उपाध्यक्ष विष्णुप्रसाद पौडेल रास्वपाका सुलभ खरेलसँग भारी मतान्तरमा पछाडि छन् । काठमाडौं–५ मा पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल रास्वपाका सस्मित पोखरेल र कांग्रेसका प्रदीप पौडेलभन्दा पनि पछाडि छन् ।
काठमाडौं–४ मा सचिव डा. राजन भट्टराई रास्वपाका पुकार बम र कांग्रेसका सचिन तिमल्सेनाबाट पछाडि छन् । भक्तपुर–२ मा सचिव महेश बस्नेत रास्वपाका राजीव खत्रीबाट निकै पछाडि परेका छन् । गुल्मी–१ मा प्रदीप ज्ञवाली रास्वपाका सागर ढकालबाट पछाडि छन् ।
यी नेताहरूमध्ये तेह्रथुममा सचिव भानुभक्त ढकाल कांग्रेसका सन्तोष सुब्बासँग ६ सयभन्दा बढी मतान्तरले अगाडि छन् । गुल्मी–२ मा उपाध्यक्ष गोकर्ण विष्ट, कैलाली–४ मा उपमहासचिव लेखराज भट्ट र धनुषा–४ मा उपमहासचिव रघुवीर महासेठ पनि प्रारम्भिक गणनामा पछाडि छन् तर उनीहरूले बाँकी बुथबाट मतान्तर घटाउने आशा व्यक्त गरेका छन् ।
एमालेका यी शीर्ष नेताहरू आफ्नो ‘कोर एरिया’ मै पछाडि परेका कारण अब चुनाव हारिने अवस्था आउन सक्ने मानसिक तयारीमा रहेको पार्टी निकट स्रोतहरूले बताएका छन् । मतगणना क्रममा थप परिणामहरू आउन बाँकी छ । मतगणना जारी रहँदा एमालेका नेताहरूको स्थिति चिन्ताजनक देखिएको छ ।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया