रुकुम पूर्व । नेपाल कम्युनिष्ट पार्टीका संयोजक तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहालले पछिल्लो चुनावी परिणामलाई लिएर धेरै सिट जित्दैमा अत्यधिक उत्साहित हुन नहुने बताएका छन्। उनले आगामी संसदमा आफू सबैभन्दा सिनियर नेता हुने सम्भावना रहेको पनि उल्लेख गरे।
रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा आयोजित विजय र्यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै दाहालले विगतको उदाहरण दिँदै सत्तामा पुगेपछि जनमत जोगाउन नसक्दा के परिणाम आउँछ भन्ने कुरा सम्झिनुपर्ने बताए।
उनले भने, ‘२०६४ मा हामीले पनि ठूलो जनमत प्राप्त गरेका थियौँ, तर त्यो समर्थनलाई दीर्घकालसम्म कायम राख्न सकेनौँ। त्यसैले अहिले धेरै सिट जितेको भन्दै घमण्ड गर्ने वा कम सिट ल्याएको भन्दै निराश हुने अवस्था छैन।’
दाहालले अहिले देशभर चर्चा कमाइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका एजेण्डा पनि आफूहरूले पहिलेदेखि उठाउँदै आएको दाबी गरे। उनले नयाँ पुस्ताले उठाएका मुद्दा रास्वपाले अघि बढाएको भए पनि ती विषयहरू पहिलेबाटै आफूहरूले उठाइरहेको बताए।
उनले आफू पूर्वप्रधानमन्त्रीमध्ये प्रत्यक्ष निर्वाचन जितेर आएको उम्मेदवार भएको उल्लेख गर्दै संसदमा आफ्नो अनुभव र वरिष्ठताका आधारमा आफू प्रभावशाली भूमिका खेल्ने बताए।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया