बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा लुम्बिनी प्रदेश नवप्रवर्तन तथा स्टार्टअप विभाग प्रमुख ओम पौडेलले पार्टीका सबै जिम्मेवारीसहित साधारण सदस्यताबाट पनि राजीनामा दिएका छन्। रुपन्देही क्षेत्र नम्बर ३ का निवर्तमान सभापति रहेका पौडेलले पार्टीका महामन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन्।
पौडेलले पुराना राजनीतिक दलहरूले संस्थागत गरेको भ्रष्टाचार, सेटिङ र आपराधिक सञ्जालविरुद्ध सभापति रवि लामिछानेले देखाएको साहसप्रति ऐक्यबद्धता जनाउँदै आफू रास्वपामा आवद्ध भएको उल्लेख गरेका छन्। तर प्रतिनिधिसभा निर्वाचनको मतदान प्रक्रिया र परिणामपछि आफ्नो तत्कालीन राजनीतिक दायित्व पूरा भएको महसुस गर्दै अब स्वतन्त्र नागरिकका रूपमा बस्ने निर्णय गरेको उनले बताएका छन्।
रास्वपा आफ्नो जीवनको पहिलो राजनीतिक दल भएको उल्लेख गर्दै संगठन प्रारम्भिक चरणमा रहेका बेला भित्रै बसेर योगदान दिनु उचित ठानेर आफू सक्रिय भएको उनले बताएका छन्।
राजीनामा पत्रमा उनले नेपाली राजनीतिमा देखिने विसंगति, अवसरवाद र दोहोरो चरित्रप्रति कडा टिप्पणी पनि गरेका छन्। राजनीतिलाई ‘फोहोरी खेल’को संज्ञा दिँदै उनले रास्वपाभित्र समेत पद र स्वार्थका लागि प्रतिस्पर्धा गर्ने प्रवृत्ति देख्दा दुःख लागेको उल्लेख गरेका छन्।
कुनै दबाब वा अन्य दलमा अवसर खोज्ने उद्देश्य नभई स्वतन्त्र रूपमा बाँच्ने र सहीलाई सही तथा गलतलाई गलत भन्न सक्ने स्वतन्त्रता कायम राख्न झण्डाको राजनीतिबाट बाहिरिएको उनले स्पष्ट पारेका छन्।
पार्टीभित्र रहँदा धेरै सहकर्मीको माया पाएको स्मरण गर्दै उनले कसैलाई पूर्वजानकारी नदिई आफ्नै निर्णयमा राजीनामा दिएको भन्दै साथीहरू समक्ष क्षमायाचना पनि गरेका छन्। समाज परिवर्तनको लक्ष्य लिएर राजनीतिमा लाग्नेहरूको सम्मान गर्ने तर राजनीतिलाई पेशा र आयआर्जनको माध्यम बनाउने प्रवृत्तिलाई भने आफूले समर्थन नगर्ने उनको भनाइ छ।
आगामी दिनमा कुनै पदमा नरहे पनि सक्षम र दूरदर्शी व्यक्तिहरू तथा समूहलाई नागरिकका रूपमा समर्थन गर्ने र समाजप्रतिको जिम्मेवारी पूरा गर्दै जाने उनले प्रतिबद्धता व्यक्त गरेका छन्।
केही समय परिस्थितिका कारण राजनीतिमा सक्रिय भए पनि अब आफ्नो व्यवसायमा ध्यान केन्द्रित गर्ने योजना रहेको बताउँदै उनले भविष्यमा देशलाई आवश्यकता परे पुनः सही अभ्यासका लागि तयार रहने उल्लेख गरेका छन्। यससँगै उनले रास्वपासँगको औपचारिक राजनीतिक यात्रा टुंग्याएका छन्।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार












प्रतिक्रिया