काठमाडाैं । महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा प्रमोद कुमार महतो विजयी भएका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हुन्।
महतोले कुल ३४ हजार ६३६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार गिरिराजमणि पोखरेलले ६२४ मत प्राप्त गरेका छन्।
विजयपछि पत्रकारसँग कुरा गर्दै महतोले यो जित व्यक्तिगत नभई जनताको परिवर्तनको जित भएको बताएका छन्। उनले क्षेत्रका ३० वटै वडाका मतदातालाई धन्यवाद दिँदै जनताको विश्वासलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने,
यस क्षेत्रमा एक लाखभन्दा बढी मतदाता छन्। म सबै जनताको दुःख–सुखमा साथ दिनेछु र जनताको अपेक्षाअनुसार काम गर्नेछु।
महतोले विशेषगरी यस क्षेत्रमा कृषि क्षेत्रको विकास र बेरोजगारी समस्याको समाधान आफ्नो प्राथमिकता हुने बताए। साथै, क्षेत्र नम्बर १ मा देखिएको क्रसर (क्रसर उद्योग) आतंक अन्त्य गर्न पहल गर्ने पनि उनले उल्लेख गरे।
म आफैँ पनि पहिले क्रसर व्यवसायी थिएँ, तर अहिले छैन। यस क्षेत्रमा देखिएको क्रसर आतंक अन्त्यतिर लैजान पहल गर्नेछु,उनले भने।
त्यसैगरी उनले चुरे क्षेत्रमा भइरहेको दोहनप्रति चिन्ता व्यक्त गर्दै यसको संरक्षणका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए।
महतोले थपे,
म जनताको छोरा हुँ। जसरी एउटा छोरालाई आफ्नो परिवारप्रति माया हुन्छ, त्यसैगरी मलाई आफ्नो क्षेत्रप्रति माया छ। यदि हामी जनताको विश्वासमा खरो उत्रिन सकेनौँ भने जनताले हामीलाई पनि अस्वीकार गर्नेछन्।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार












प्रतिक्रिया