काठमाडाैं । महेन्द्रबहादुर शाही कर्णाली राजनीतिका यस्ता चतुर खेलाडी हुन्, जसले हरेक जोखिमलाई आफ्नो पक्षमा पारेर जित निकाल्छन् । सशस्त्र युद्धकालदेखि मुख्यमन्त्रीको सत्ता संकटसम्म, हरेक चुनौतीलाई अवसरमा बदल्न सफल भएका छन् ।
यो पटकको प्रतिनिधिसभा निर्वाचन पनि उनकै लागि कठिन थियो । पूर्वसहकर्मी प्रकाण्ड विप्लव माओवादीबाट उम्मेदवार बनेर चुनौती दिए । पार्टीभित्रै जीवन बुढाको बागी उम्मेदवारीले कार्यकर्ता विभाजित भए । अन्य दलहरूले कालिकोटमा विकास नगरेको आरोप लगाए ।
तर महेन्द्रले सबै चुनौती चिर्दै कालिकोटमा आफ्नो विरासत कायम राखे । नेकपाबाट उम्मेदवार बनेका उनले ११ हजार ३३८ मत ल्याएर जिते । एमालेका नगिन्द्र शाहीले १० हजार ३५२ मत पाए । कांग्रेसका हर्षबहादुर बमले ७ हजार १३३ मत ल्याए भने प्रकाण्ड चौथो स्थानमा सीमित भएर ४ हजार ५९९ मत मात्र पाए ।
महेन्द्रले ०७९ मा २३ हजार ७२७ मतसहित जितेका थिए । ०७० मा पनि १० हजार ९८४ मतसहित विजयी भए । जनयुद्धकालमा कालिकोटको सैन्य इन्चार्ज भएर ठूला मोर्चा सम्हालेका उनी सेना समायोजनपछि राजनीतिक मोर्चा रोजे ।
०७४ मा मुख्यमन्त्री बनेपछि एमालेको अविश्वास प्रस्ताव, पार्टी फुट र सत्ता संकटका बाबजुद पनि पद जोगाए । कांग्रेसलाई समेत पक्षमा ल्याएर ३ वर्ष ८ महिना मुख्यमन्त्री रहे ।
जनार्दन शर्मा र शक्ति बस्नेतपछि कर्णालीमा माओवादीको प्रभावशाली नेता बनेका महेन्द्र अहिले प्रचण्डको विश्वासपात्र हुन् । कालिकोटमा उनको जितले फेरि प्रमाणित गरेको छ, चुनौतीलाई जितमा बदल्ने उनको राजनीतिक कौशल देखिन्छ ।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार












प्रतिक्रिया