काठमाडौं। जेनजी आन्दोलनमा भएको दमन तथा भोलिपल्टको विध्वंसबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो प्रतिवेदन भोलि (आइतबार) सम्ममा प्रधानमन्त्रीलाई बुझाउने भएको छ । आयोगका पदाधिकारीहरूले प्रतिवेदनलाई अन्तिम रूप दिन सिंहदरबारस्थित कार्यालयमा बसेर काम गरिरहेका छन् ।
आयोगका एक पदाधिकारीले भने, “प्रतिवेदन लेखनका क्रममा केही त्रुटि वा कमजोरी छ कि भनेर रुजु गर्ने काम भइरहेको छ । आज अपराह्नसम्म त्यो काम सकिनेछ । मिल्यो भने आज बेलुकी, नभए भोलिसम्ममा प्रधानमन्त्रीज्यूलाई प्रतिवेदन बुझाउनेछौं ।”
अनुसन्धानका क्रममा संकलन गरिएका प्रमाण तथा दस्तावेजहरूलाई वर्गीकरण गरी शिलबन्दी गर्ने काम सचिवालयले गरिरहेको छ । ती कागजात पनि आयोगले प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेको छ ।
गत भदौ २३ मा जेनजी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन भएको थियो । आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानूनविद् विश्वेश्वर भण्डारी सदस्य छन् ।
आयोगले संकलन गरेका प्रमाणहरूको आधारमा प्रतिवेदन तयार पारिरहेको छ । प्रतिवेदन बुझिएपछि यसले आन्दोलनका क्रममा भएका घटनाको आधिकारिक विवरण तथा जवाफदेहिताको विषयमा स्पष्टता ल्याउने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार












प्रतिक्रिया