काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट गुल्मी क्षेत्र नम्बर–२ मा उम्मेदवार बनेका नेपाल प्रहरीका पूर्वडीएसपी गोविन्द पन्थी विजयी भएका छन्। उनले १६ हजार ८७८ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार गोकर्ण बिष्टले १६ हजार ३८२ मत प्राप्त गरेका छन्। पन्थीले बिष्टलाई झिनो मतान्तरले पछि पार्दै विजय हासिल गरेका हुन्।
यसैबीच, कपिलवस्तु क्षेत्र नम्बर–२ मा रास्वपाका उम्मेदवार तथा नेपाल प्रहरीका पूर्वएसएसपी विक्रमसिंह थापा फराकिलो मतान्तरसहित अग्रस्थानमा रहेका छन्। उनले हालसम्म २१ हजार १६८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रराज आचार्य १२ हजार २२२ मतसहित दोस्रो स्थानमा छन्।
त्यस्तै, झापा क्षेत्र नम्बर–४ मा रास्वपाका उम्मेदवार तथा नेपाल प्रहरीका पूर्वसई शम्भु ढकालले १८ हजार ८११ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार लालप्रसाद साँवा लिम्बूले पाँच हजार ५९० मतसहित उनलाई पछ्याइरहेका छन्।
उता ओखलढुंगामा रास्वपाका उम्मेदवार तथा नेपाल प्रहरीका पूर्वएआईजी विश्वराज पोखरेल भने पछाडि परेका छन्। नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेलले ६ हजार ३०१ मत प्राप्त गर्दै अग्रता लिएका छन् भने पोखरेलले पाँच हजार २५८ मतसहित उनलाई पछ्याइरहेका छन्।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया