काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनालले भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनले नेपाली कांग्रेस र नेकपा (एमाले) का प्रतिस्पर्धीलाई ठूलो अन्तरले पछि पार्दै ऐतिहासिक जित हासिल गरेका हुन्।
अन्तिम मतपरिणाम अनुसार खनालले २७ हजार ७१९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सबुज बानियाँ ६ हजार ६४७ मतसहित दोस्रो स्थानमा परेका छन् भने एमालेका अमन मास्के ४ हजार ३७३ मतमा सिमित रहे।
विजयपछि भिडियो सन्देशमार्फत मतदातालाई धन्यवाद दिंदै खनालले कुनै प्रकारको विजय र्याली, उत्सव वा सिन्दुर जात्रा नगर्ने घोषणा गरेका छन्। देश विशेष परिस्थितिमा रहेको भन्दै उनले अब उत्सवभन्दा पनि काममा ध्यान दिनुपर्ने बताएका छन्।
उनले भने, ‘रास्वपा सभापति रवि लामिछाने र बालेन्द्र शाहको निर्देशन अनुसार देशको रुपान्तरण, सुशासन र समृद्धिका लागि हामी एक दिन पनि खेर नफाली काममा जुट्नेछौँ। त्यसैले अबिर जात्रा र विजय र्याली नगर्ने निर्णय गरेका छौँ।’
खनालले मतदाताको घरदैलो र टोलटोल भ्रमण भने गर्ने योजना बनाएका छन्। तर, घरदैलोमा जाने क्रममा आफूलाई खादा, माला वा टिका नलगाइदिन अनुरोध गर्दै उनी जनताको गुनासो, सुझाव र समस्या बुझ्न सधैं तयार रहने बताए।
विगतमा सुशासन र भ्रष्टाचारको विरोधमा ज्यान गुमाउने युवाहरूको योगदान स्मरण गर्दै उनले निर्वाचन परिणामलाई परिवर्तनको पक्षमा युवाहरूको सक्रिय हस्तक्षेपको रूपमा अर्थ्याएका छन्।
अन्ततः, देशको अर्थतन्त्र विकास गर्ने, विदेशिएका युवालाई फर्काउने र छोटो समयमा परिणाम दिनुपर्ने चुनौतीलाई ध्यानमा राख्दै खनालले ‘रातदिन खटेर जनताको अपेक्षा र देशको विकास पूरा गर्ने’ प्रतिबद्धता जनाएका छन्।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया