काठमाडौ। विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी पछिल्लो २४ घण्टामा पाँच जनाको मृत्यु भएको छ।
नवलपरासी पूर्व, कञ्चनपुर, धादिङ, सुनसरी र दाङमा भएका दुर्घटनामा उनीहरूको ज्यान गएको हो।
प्रहरीले दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ।
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ। नवलपरासी पूर्व, कञ्चनपुर, धादिङ, सुनसरी र दाङमा भएका छुट्टाछुट्टै दुर्घटनामा उनीहरूले ज्यान गुमाएका हुन्।
नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका-४ कालिगण्डकी चोकमा ना.५ ख ९००६ नम्बरको ट्रकले ना.२८ प ४२६० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २८ वर्षीय नवीन घतानेको मृत्यु भएको छ। नयाँ मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा उनको निधन भएपछि प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।
यसैगरी कञ्चनपुरको बेलौरी नगरपालिका-१० सडकघाटमा से.३ प २००८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक २८ वर्षीय मान बहादुर चौधरीको मृत्यु भएको छ। शुक्रबार राति भएको सो दुर्घटनामा गम्भीर घाइते भएका उनको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा ज्यान गएको हो।
धादिङको बैरेनी बजारमा दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा ३९ वर्षीय होम बहादुर तामाङको मृत्यु भएको छ। बा.८२ प २९६५ र बा.प्र.०२-०६४ प ५७८६ नम्बरका मोटरसाइकल जुध्दा भएको सो दुर्घटनामा प्रहरीले अर्का चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
यस्तै, सुनसरीको रामधुनी नगरपालिका-६ ईचोलमा कारले सफारीलाई ठक्कर दिँदा ६० वर्षीय भीम बहादुर कार्कीको मृत्यु भएको छ। बाग्मती प्रदेश १-०३३ च ८८७८ नम्बरको कारले ठक्कर दिएपछि गम्भीर घाइते भएका सफारी चालक कार्कीको धरानस्थित घोपा अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
त्यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका-१४ ढ्याङपुरमा लु.३ त ७६५१ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा ३५ वर्षीय कलेशु चौधरीको ज्यान गएको छ। ट्याक्टर दुर्घटनामा घाइते भएका अन्य दुई जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया