एजेन्सी । लेबनानमा पछिल्ला केही दिनयता भएका आक्रमण र झडपका कारण मृत्यु तथा घाइतेको सङ्ख्या निरन्तर बढिरहेको छ। शनिबार लेबनानको पूर्वी क्षेत्रमा भएको भीषण झडपमा कम्तीमा २६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
स्थानीय स्रोतका अनुसार नबी चित–हाम क्षेत्रमा चारवटा इजरायली हेलिकोप्टर अवतरण गरेपछि हिजबुल्लाहका लडाकुहरूले उनीहरूमाथि गोलीबारी सुरु गरेका थिए। त्यसपछि क्षेत्र तनावग्रस्त बनेको थियो। झडपमा स्थानीय बासिन्दा समेत सहभागी भएको बताइएको छ।
त्यसपछि इजरायली सेनाले फाइटर जेट र हेलिकोप्टरमार्फत सो क्षेत्रमा करिब ४० वटा हवाई आक्रमण गरेको जनाइएको छ। ती आक्रमणमा लेबनानी सेना, सुरक्षा निकायका सदस्य र सर्वसाधारण नागरिकको समेत ज्यान गएको बताइएको छ।
यसअघि शुक्रबार पनि इजरायली हवाई सेनाले नबी चित तथा आसपासका क्षेत्रमा १३ वटा हवाई आक्रमण गरेको थियो। यो घटना सोमबार हिजबुल्लाहले इजरायलतर्फ रकेट प्रहार गरेपछि देखिएको पहिलो ठूलो सैन्य टकरावका रूपमा हेरिएको छ।
झडपपछि क्षेत्रमा थप तनाव बढेको छ भने घाइतेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार












प्रतिक्रिया