पोखरा । नेकपा एमाले कास्कीका सल्लाहकार सदस्य खगराज आचार्यले पदबाट राजीनामा दिएका छन् । एमालेको लज्जास्पद हारपछि पनि अध्यक्ष केपी शर्मा ओलीले राजीनामा नदिएको भन्दै उनी आफैले राजीनामा बुझाएका हुन् ।
‘नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको लज्जास्पद हार पश्चात् पनि अध्यक्ष पदबाट तत्काल राजीनामा नदिएको यस घडीमा म कास्की जिल्ला पोमनपा वार्ड नं। २१ निवासी खगराज आचार्यले आजैको मितिबाट लागु हुने गरी नेकपा एमाले कास्की जिल्ला कमिटीको सल्लाहकार पदबाट राजीनामा दिएको छु,’ उनले भनेका छन् ।
आचार्य २०७४ को निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर २१ को अध्यक्ष निर्वाचित भएका थिए । उक्त वडालाई एमालेले आफ्नो किल्ला ठान्दै आएको थियो । विगतका निर्वाचनमा ७० प्रतिशत भन्दा बढी मत एमालेले पाउने यो वडामा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले ६० प्रतिशतभन्दा बढी मत ल्याएको छ । आचार्य पार्टीले पछिल्ला दिनमा गरेका गतिविधिप्रति सन्तुष्ट छैनन् ।
उनले दैनिकजसो अध्यक्ष ओलीले मार्गप्रशस्त गर्नुपर्ने र नयाँ नेतृत्वले पार्टी हाँक्नुपर्ने आवाज उठाउँदै आएका छन् । उनले आफ्नो वडाध्यक्षको कार्यकालमा पनि एमाले पार्टीबाट खासै सहयोग नपाएको गुनासो गर्ने गरेका थिए ।
प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया