मकवानपुर । नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामाको घोषणा गरेका छन् । पछिल्लो निर्वाचन परिणामपछि पार्टीभित्र गम्भीर आत्मसमीक्षा आवश्यक रहेको उल्लेख गर्दै उनले आइतबार सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका हुन्।

पोखरेलले नेकपा माले हुँदै एमालेको ४५ वर्ष लामो राजनीतिक यात्रामा अहिले पार्टीले भोग्नुपरेको परिणामको वास्तविक कारण पहिचान गर्नुपर्ने बताए । उनले समस्याको कारण नखोजी गोलमटोल भाषामा प्रतिक्रिया दिने तथा ईर्ष्या र घमन्डपूर्ण प्रवृत्तिले पार्टीलाई सही दिशामा लैजान नसक्ने उल्लेख गरेका छन्।

advertisement

पोखरेलले पार्टी नेतृत्वलाई समेत आत्मसमीक्षा गर्न आग्रह गर्दै आवश्यक परे जिम्मेवारी लिएर राजीनामा दिँदै पार्टी पुनर्गठनका लागि बाटो खोल्नुपर्ने बताएका छन्।

‘यो परिणामको वास्तविक कारण पहिचान गर्न नसकी गोलमटोल भाषामा मात्र व्यक्त हुने, ईर्ष्या र घमन्डपूर्ण प्रवृत्तिबाट समस्याको समाधान सम्भव हुँदैन। त्यसैले तलदेखि माथिसम्म सबैले आत्मसमीक्षा गरी आफ्नो–आफ्नो जिम्मेवारी ग्रहण गर्नुपर्ने आजको माग हो।’ उनले लेखेका छन्, ‘पार्टीलाई सही दिशामा अघि बढाउन पार्टी अध्यक्षदेखि महासचिव लगायत सबैले आफ्नो जिम्मेवारी स्वीकार गर्दै आत्मसमीक्षा गर्नुपर्छ, र आवश्यक परे जिम्मेवारी लिएर राजीनामा दिँदै पार्टी पुनर्गठनका लागि नेतृत्वका ले बाटो प्रशस्त गर्नु पर्दछ। आगामी दिनमा पार्टीलाई जीवित र सुदृढ राख्ने हो भने यस यथार्थलाई आत्मसात् गर्दै जिम्मेवारी लिनैपर्छ। यसै सन्दर्भमा, आजकै दिनदेखि लागू हुने गरी म आफ्नो अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गर्दछु।’

उनले अब आउने युवा पुस्तालाई नेतृत्वको अवसर दिनुपर्ने धारणा व्यक्त गर्दै उनीहरूलाई आफ्नो पूर्ण साथ र सहयोग रहने बताए ।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com