काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको परिणाम अप्रत्याशित रूपमा आएपछि नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न उठ्न थालेको छ। विशेष महाधिवेशनबाट नेतृत्वमा आएका सभापति गगन थापासहितका शीर्ष पदाधिकारीहरू निर्वाचनमा पराजित भएपछि पार्टीभित्र असन्तुष्टि र आलोचना बढ्दै गएको हो।

विशेष महाधिवेशनमार्फत निर्वाचित कांग्रेस केन्द्रीय कार्यसमितिका अधिकांश पदाधिकारी चुनावमा सफल हुन नसकेपछि नियमित प्रक्रिया र निर्णयमाथि पुनः समीक्षा गर्नुपर्ने आवाज पार्टीभित्र उठ्न थालेको छ।

advertisement

कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य जीतजंग बस्नेतले पनि विशेष महाधिवेशनको औचित्य समाप्त भएको टिप्पणी गरेका छन्। उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै विशेष महाधिवेशनको निर्णयले अपेक्षित परिणाम दिन नसकेको संकेत गरेका हुन्।

बस्नेतले आफ्नो पोस्टमा लेखेका छन्, ‘विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको देखिन्छ। तर यस घटनाले राजनीतिमा नैतिक चरित्रको संकट कति गहिरो छ भन्ने कुरा स्पष्ट रूपमा उजागर गरेको छ।’

गत पुस महिनाको अन्तिम साता सम्पन्न विशेष महाधिवेशनले शेरबहादुर देउवालाई सभापति पदबाट हटाउँदै गगन थापालाई पार्टीको नयाँ सभापतिका रूपमा चयन गरेको थियो। तर त्यसको करिब दुई महिनापछि सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सभापति थापा सर्लाही क्षेत्र नम्बर ४ बाट पराजित भएपछि पार्टीभित्र उक्त महाधिवेशनको निर्णयमाथि पुनः बहस सुरु भएको छ।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com